
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स महंगोमा विक्री भएको छ । पूजा तामाङले २० लाखमा फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गरेकी हुन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोभित र तामाङबीच विदेश राइट्स विक्रीको सम्झौता पत्रमा हस्ताक्षर भयो । अब यो फिल्मलाई विदेशी भूमिमा प्रदर्शन गर्ने सम्पूर्ण अधिकार पूजासँग रहनेछ ।
कोरोना महामारीभन्दा अगाडि नै छायांकन पूरा भएको यो फिल्मको नेपालका लागि प्रदर्शन मिति घोषणा गरिएको छैन । अबको केही दिनमा सलोन बस्नेत र पूजा शर्माले एकसाथ नृत्य गरेको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ । दशैंअघि निर्देशक बस्नेतले अष्ट्रेलियाका केही शहरमा फिल्मको प्रदर्शन गरेका थिए, जहाँ सुखद् प्रतिक्रिया मिलेको थियो ।
चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको ‘बद्री बहादुर’मा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ, वर्षा चौलागाईंलगायतको अभिनय छ । एलिनाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । रामकाजी घिमिरेको लेखन रहेको यो फिल्मलाई विनोद सापकोटाले छायांकन र बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व छ । काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल छन् । एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् ।

