Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा पहिलो पटक एनिमेटेड फिल्म बन्दै, लगानी ५ करोड

फिल्मीखबर, काठमाडौं, 2022/11/09
movie - chandragiri warriors
 
विश्वभरमा कम्प्यूटर एनिमेटेड फिल्मको बजार फैलिँदो छ । ‘द लायन किङ’, ‘टोय स्टोरी’, ‘मिनियन्स्’, ‘फ्रोजन’, ‘जुटोपिया’ जस्ता हलिउडका एनिमेटेड फिल्मले विश्वभर अर्बौंको कमाई गरेका छन् । एनिमेटेड फिल्ममा अन्य फिल्म झैं कथाको पनि आवश्यकता पर्छ भने पात्रहरु कम्प्यूटरको माध्यमबाट एनिमेसन गरिन्छ । यसका लागि समय, जनशक्ति र बजेट उल्लेख्य मात्रामा चाहिन्छ । 
 
बलिउडले समेत उत्ति प्रयोग गर्न नरुचाएको वा नसकेको कम्प्यूटर एनिमेटेड फिल्म अब नेपालमा निर्माण हुने भएको छ । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’ (चन्द्रागिरी योद्धाहरु) शिर्षकमा एनिमेटेड फिल्म बनाउन लागेको हो । अनुमानित ५ करोडको लागतमा नेपालकै जनशक्तिबाट एनिमेटेड फिल्म बनाउन लागिएको फिल्मका निर्देशक इन्द्र बलामीले जानकारी दिए । 
 
उनले भने- ‘अहिले हामी प्रि-प्रोडक्सनकै चरणमा छौं । कथावस्तु भने फाइनल भइसकेको छ । अबको एक-दुई हप्तामा क्यारेक्टर डिजाइनको काम पूरा हुनेछ ।’ १५ देखि २० जना जनशक्तिलाई फिल्म तयार गर्न डेढ-दुई वर्ष लाग्ने उनको अनुमान छ । फिल्मको सम्पूर्ण एनिमेसनको काम नेपालमा नेपालकै जनशक्तिबाट गर्ने बलामीले जानकारी दिए । फिल्मको लम्बाई ९० मिनेटको हुनेछ । 
 
फिल्मलाई विश्व प्रख्यात ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उनको योजना छ । तर, अहिलेसम्म कुनै ओटीटी प्लेटफर्मसँग छलफल नभएको उनले बताए । ओटीटीसँगै फिल्मलाई हलमा पनि रिलिज गरिने बलामीको भनाई छ । उनका अनुसार, फिल्म नेपाली, हिन्दी, नेवारी र अंग्रेजी गरी चारवटा भाषामा बन्नेछ । ‘चन्द्रागिरी वारियर्स’ तयार भए यो नेपालकै पहिलो एनिमेटेड फिल्म हुनेछ ।