Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को छायांकन अन्योल, सुदर्शन र विपिन दुवै देशबाहिर

फिल्मीखबर, काठमाडौं, 2022/11/09
फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाले ५ दिनअघि आफ्नो फेसबुकमा दुखेसो पोख्दै लेखेका थिए, ‘डाइरेक्टर हलिउड, एक्टर बलिउड । मेरो ‘प्रसाद २’ ।’ चलचित्र निर्माता संघको रोहबरमा फिल्मका निर्माता, निर्देशक र कलाकारबीच भएको सम्झौतामा मंसिर ७ गतेबाट छायांकन थाल्ने भन्ने छ । तर, अहिले निर्देशक सुदर्शन थापा अमेरिका र अभिनेता विपिन कार्की मुम्बईमा छन् ।
 
निर्देशक र कलाकार दुवै देशबाहिर हुँदा निर्माता थापा अन्योलमा छन् । प्रि-प्रोडक्सनदेखि वर्कसपसम्म लाखौं खर्च भइसकेकाले उनलाई पीडा पनि उतिक्कै छ । सुदर्शन काम विशेषले अमेरिका उडेका हुन् भने विपिन एक बलिउड फिल्मको सुटिङमा व्यस्त छन् । दुवै नेपाल नआएसम्म ‘प्रसाद २’को छायांकन सम्भव छैन । र, अब मंसिर ७ गतेबाट छायांकन हुने सम्भावना पनि देखिन्न ।
 
bipin karki and sudarshan thapa
 
‘प्रसाद २’ प्रि-प्रोडक्सनबाटै विभिन्न उल्झनमा पर्दै आएको छ । स्क्रिप्ट लेखनकै चरणदेखि निर्देशक र कलाकार परिवर्तनको श्रृंखला सुरु भयो । जसोतसो टिम जुटाएर फिल्मको घोषणा र वर्कसप भयो । छायांकनका लागि फिल्मको टिम कास्कीको एक गाउँमा पनि पुग्यो । तर, कलाकार, निर्माता र निर्देशकबीच विवाद निस्किएपछि छायांकन सुरु हुन सकेन र टिम काठमाडौं फिर्ता भयो ।
 
काठमाडौं आएपछि निर्माता थापाले निर्माता संघमा फिल्मको छायांकन गर्ने वातावरण मिलाइदिन भन्दै निवेदन पेश गरे । र, संघले टिमभित्रको विवाद मिलाएर छायांकन सुरु गर्ने मिति तोकिदियो । तर, त्यो मितिमा नभ्याउने भन्दै अभिनेत्री नम्रता श्रेष्ठले फिल्मबाट हात झिकिन् । त्यसपछि निर्माण टिमले केही अभिनेत्रीलाई फिल्म अफर गर्‍यो । अन्ततः केकी अधिकारी काम गर्न राजी भइन् । 
 

 
ठूलो रस्साकस्सीपछि फिल्मको सम्पूर्ण टिम जुटे पनि अब निर्देशक र अभिनेताका कारण ‘प्रसाद २’को छायांकन अन्योल बनेको छ । सुदर्शन र विपिन नेपाल फर्किने टुंगो छैन । उनीहरु नेपाल फर्किएर छायांकन सुरु गर्ने बेलासम्म टिम फेरि फुट्ने होकि भन्ने डरले निर्मातालाई पिरोल्न थालेको छ । यति अस्तव्यस्त टिमले फिल्म चाहिँ कस्तो बनाउला ? यो धेरैको चासोको विषय बनेको छ ।