
रियल जोडी रणबीर कपूर र आलिया भट्ट अभिनीत यस वर्षको सुपरहिट फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान् शिवा’को सिक्वेलको तयारी सुरु भइसकेको छ । पहिला पार्ट शिवा (रणबीर) चरित्रमाथि केन्द्रित थियो भने दोस्रो पार्ट देव चरित्रमाथि आधारित रहनेछ । त्यसैले सिक्वेलको नाम ‘ब्रह्मास्त्र : पार्ट टू देव’ राखिएको छ । फिल्ममा देवको चरित्र निर्वाह गर्ने कलाकारको अझै टुंगो लागिसकेको छैन ।
अयान मुखर्जीको निर्देशनमा बन्ने ‘ब्रह्मास्त्र २’को देव चरित्रका लागि ऋतिक रोशन, रणवीर सिंह, ‘केजीएफ’ स्टार यशलाई अप्रोच गरिएको भए पनि तीनै जनाले अस्वीकार गरिसकेका छन् । अब साउथ सुपरस्टार विजय देवरकोन्डालाई फिल्म अप्रोच गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ‘ब्रह्मास्त्र’का निर्माता करण जोहरले उनलाई फिल्मको अफर गरेको बताइएको छ ।
यसअघि विजयले करणको धर्मा प्रोडक्सनबाट निर्मित फिल्म ‘लाइगर’मा काम गरिसकेका छन् । यही फिल्मबाट उनले बलिउडमा डेब्यू गरेका थिए । यसै कारण करणको रोजाईमा विजय परेका हुन् । तर, विजयले भने फिल्ममा काम गर्ने वा नगर्ने विषयमा निर्णय गरिसकेका छन् । उनले देवको चरित्र निर्वाह गर्न स्वीकार गरे फिल्मले साउथका दर्शकको पनि राम्रो साथ पाउन सक्नेछ ।
‘ब्रह्मास्त्र २’मा रणवीर र आलियाको पनि अभिनय रहनेछ । पहिलो पार्टमा रणवीरले शिवाको चरित्र निर्वाह गरेका थिए । फिल्ममा भिजुअल इफेक्ट्स र भिएफएक्सको काम उत्कृष्ट थियो । यही कारण फिल्म दर्शकको रोजाईमा परेको थियो । फिल्ममा अमिताभ बच्चन, मौनी रोय र अक्किनेनी नागार्जुनको पनि अभिनय थियो । ‘ब्रह्मास्त्र २’ अर्को वर्षको अन्तिममा प्रदर्शन हुने सम्भावना छ ।

