सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘महशुस’ले तन्नेरी पुस्तालाई प्रेम गर्न सिकाएको थियो भने प्रेमको महत्त्व बुझाएको थियो । भलै व्यापार सुखद् रहेन तर फिल्मले लभस्टोरीमा दर्शकलाई नयाँ स्वाद पस्किएको थियो । नवल नेपाल निर्देशित फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी र बेनिशा हमाल मुख्य भूमिकामा थिए । यसमा यी तीनै जना कलाकारको सम्झनलायक अभिनय थियो ।
यो फिल्ममा बेनिशाले आर्यनको प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन् । त्यसबेला दुवैको जोडीलाई दर्शकले रुचाएका पनि थिए । तर, ‘महशुस’पछि उनीहरुबीच फिल्ममा सहकार्य जुर्न सकेको छैन । ९ वर्षपछि म्यूजिक भिडियोमा भने यो जोडीले एकसाथ काम गरेको छ । सोमवार सार्वजनिक भएको ‘आउन राजा’ बोलको प्रेमिल गीतमा आर्यन र बेनिशाको जोडीलाई देख्न सकिन्छ ।
बेनिशाले आफ्नै प्रोडक्शन कम्पनी मौरी पिक्चर्सको यूट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् । कोरोना महामारीभन्दा अगाडि भारतमा बसेर फिल्म मेकिङको कोर्ष गरेकी उनले अब आफ्नै कम्पनीबाट फिल्म निर्माणको तयारी समेत गरेको जानकारी प्राप्त छ । निकेश खड्का निर्देशित तथा केदार भुषाल निर्मित गीतको भिडियोमा आर्यन र बेनिशाको केमेस्ट्री सुहाएको देखिन्छ ।
यतिबेला आर्यन र बेनिशाको फिल्मी करिअर संकटमा छ । किनकि, लामो समयदेखि उनीहरुलाई फ्लप फिल्मको छायाँले साथ छाडेको छैन । जसले गर्दा आर्यन र बेनिशा दुवै निराश छन् । अब आर्यनलाई फिल्म ‘डिसेम्बर फल्स’ र बेनिशालाई ‘छक्का पञ्जा ४’बाट ठूलो आशा छ । ‘आउन राजा’ गीत रिलिज भएसँगै दर्शकहरुले यो जोडीलाई पुनः फिल्ममा हेर्ने इच्छा पनि जताएका छन् ।

