कोरोना महामारीअघि बलिउड फिल्म भन्नसाथ नेपाली निर्माता सपनामै तर्सिन्थे । बलिउड फिल्मले नेपाली फिल्मलाई एक गाँसमै सिध्याउँछ भन्ने डर निर्मातामा हुन्थ्यो । त्यसैले बलिउडको सानोतिनो फिल्म भए पनि नेपाली फिल्म भिड्ने आँट गर्दैन थिए । तर, कोभिडपछि यो अवस्था फेरिएको छ । अहिले नेपाली फिल्म बलिउड फिल्मसँग भिडिरहेका मात्र छैनन, बाजी पनि मारेका छन् ।
हुन त कोभिडपछि बलिउडका फिल्महरु भारतमै लगातार असफल भइरहेका छन् । बरु, प्रान्तिय फिल्महरुले भारतमा आफ्नो वर्चश्य जमाइरहेका छन् । नेपालमा पनि बलिउड फिल्मको बजार खस्किएको अवस्था छ । र, यसको फाइदा नेपाली फिल्मले उठाउन थालेका छन् । यस वर्षको ७ महिनाको अवधिमा ६ फिल्म हिट हुनुले पनि नेपाली फिल्मको दिन फिरेको बुझ्न सकिन्छ ।
.jpg)
यस वर्षको तिहारमा रिलिज भएको फिल्म ‘के घर के डेरा’ले पाँच दिनमै बलिउड फिल्म ‘थ्यांक गड’सँग भिडन्त गर्नुपरेको थियो । तर, बलिउड फिल्म कमजोर निस्किँदा नेपाली फिल्मलाई लोट्री पर्यो । तिहारकै विदाले ‘के घर के डेरा’लाई यस वर्षको हिट बनायो । छठ विदामा प्रदर्शन भएको फिल्म ‘महापुरुष’ले पनि दोस्रो हप्तामा बलिउड फिल्म ‘फोन भूत’सँग भिडन्त गरेको थियो ।
तर, कटरीना कैफ, सिद्धान्त चतुर्वेदी, ईशान खट्टर जस्ता कलाकारहरुको बावजूद पनि ‘फोन भूत’लाई नेपाली दर्शकले पत्याएनन् । नेपालमा यो फिल्मको व्यापार नाजुक छ । ‘महापुरुष’ले भने दोस्रो साता पनि हलमा आफ्नो वर्चश्व डगमगाउन दिएको छैन । मल्टीप्लेक्सहरुमा कन्नड फिल्म ‘कान्तारा’ र हलिउड फिल्म ‘ब्ल्याक एडम’ पनि छन् । तर, कमाईमा ‘महापुरुष’ नै पहिलो छ ।
फिल्म बलियो छ भने नेपाली दर्शकको पहिलो प्राथमिकतामा नेपाली फिल्म नै पर्छ भन्ने ‘के घर के डेरा’ र ‘महापुरुष’ एउटा गतिलो उदाहरण हुन् । आफ्नै फिल्मप्रति विश्वास नभए त बलिउडको ‘वि ग्रेड’को फिल्मदेखि पनि डराउनु पर्छ । नेपाली फिल्मप्रति दर्शकको आकर्षण बढिरहेको परिपेक्षमा अब यसलाई बचाइराख्न मेकरहरुले कथावस्तुदेखि मेकिङसम्म ध्यान खर्चिन जरुरी छ ।

