.jpeg)
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली फिल्मको रिलिज क्यालेन्डर तितरवितर बनाएको छ । निर्वाचनको माहोलले असर गर्ने भएकाले कात्तिक अन्तिम र मंसिर पहिलो साताका फिल्महरुले भकाभक नयाँ मिति रोजिरहेका छन् । यसैक्रममा, मंसिर २ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘द सोल अफ कमान्डो’ पनि तीन साता पछाडि धकेलिएको छ ।
अब यो फिल्मलाई मंसिर २३ गतेबाट प्रदर्शन गर्ने निर्णय निर्माण पक्षले गरेको छ । युवराज (वीरबहादुर) राईको निर्देशनमा तयार भएको फिल्ममा राजकुमार राई मुख्य भूमिकामा छन् । उनले २४ वर्ष अन्तरालपछि फिल्ममा कमब्याक गरेका हुन् । उनले सन् १९९८ मा प्रदर्शन भएको फिल्म ‘कमाण्डो’मा मुख्य भूमिकामा अभिनय गरेका थिए । त्यसपछि उनी अभिनयबाट निस्क्रिय थिए ।
सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती कमाएका तेक्वान्दो खेलाडी राई २४ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्न पाएकोमा खुसी छन् । अब खेल र अभिनय दुवैलाई प्राथमिकता दिने उनको योजना छ ।
एक्सन प्रधान यस फिल्ममा राईसँगै शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको पनि अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्माता, विजय एल राई हुन् भने निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू छन् । यसमा दिर्घ गुरुङको छायांकन र एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

