आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले कलाकारहरुसँग अन्तरक्रिया गरेको छ । सोमवार काठमाडौंको ठमेलमा अवस्थित अलफ्ट होटलमा आयोजित कार्यक्रममा आयोगले आसन्न निर्वाचनलाई सफल बनाउन कलाकारसँग राखेको अपेक्षाबारे बुँदागत जानकारी गराएको थियो भने कलाकारले पनि आयोगलाई विभिन्न सुझाव दिए ।
.jpg)
निर्वाचनको माहोल निर्माणमा सहयोग गरिदिन, आयोगका सन्देशहरु धेरैभन्दा धेरै मतदातासम्म पुर्याइदिन, सामाजिक सञ्जालबाट मतदाता शिक्षाका सन्देश प्रवाह गरिदिन, सभा तथा गोष्ठीहरुमा मतदाता शिक्षाका सन्देश प्रवाह गरिदिन, निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने कार्यमा आयोगले कलाकारबाट अपेक्षा राखेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।
‘कलाकार र निर्वाचन आयोग सँधै सँगसँगै हुनेछ,’ आयुक्त थपलियाले भने, ‘आयोगले नेताहरुले गरेका गल्तीहरुको सुक्ष्म रुपले अनुगमन गरिरहेको छ । जनताको सार्वभौमसत्ता किनबेच हुँदैन, मत बेचिनु हुँदैन । त्यस्तो देखिएमा जानकारी दिनुहोस्, ठाउँको ठाउँ एक्सन लिन्छौं । निर्वाचनमा किनबेच हुँदैन ।’ उनले निर्वाचनमा सम्पूर्ण कलाकारलाई सहभागी हुन पनि आग्रह गरेका छन् ।
कार्यक्रममा कलाकार हरिहर शर्माले निर्वाचन आयोगलाई मतदाता शिक्षा अझै नपुगेको अवगत गराउँदै उम्मेदवारले समेत यस विषयमा प्रष्ट पार्न नसकेको बताए । उनले टोल-टोलमा मतदाता शिक्षा दिनुपर्ने सुझाव पनि दिए । हाँस्य कलाकार मनोज गजुरेलले कलाकारहरु अभियानकर्ता मात्र नभइ खबरदारीकर्ता पनि रहेकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व र धर्म रहेको बताए ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्वाचनका दिनसम्म मतदातालाई मतदाता शिक्षा दिन सम्पूर्ण कलाकारहरु अग्रसर हुनुपर्ने धारणा राखिन् । कलाकार कृष्ण मल्लले भने मतदाता शिक्षित नभएसम्म लोकतन्त्र काम नलाग्ने तर्क राखे । गायक प्रकाश सपूतले आफू व्यवसायिक कलाकार भए पनि राष्ट्रिय जिम्मेवारी बोध गर्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आयोगसँगको अन्तरक्रियामा राजेश हमाल, रमेश बुढाथोकी, सन्तोष पन्त, रेजिना उप्रेती, जितु नेपाल, सुनिता दुलाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, लय संग्रौला, सैलेन्द्र सिम्खडा, राजा राजेन्द्र पोखरेल, दीपक आचार्यलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । निर्वाचनको संघारमा आयोगले अन्तरक्रिया र सुझाव लिने काम गरेकोमा कलाकारहरुले खुसी व्यक्त गरे ।

