Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरूष’ हेरेपछि प्रशंसामा थाकेनन् करिश्मादेखि रीमासम्म

फिल्मीखबर, काठमाडौं, 2022/11/07
यस वर्ष प्रदर्शनमा आएको ‘कबड्डी ४’पछि यतिबेला फिल्म ‘महापुरूष’ले बक्सअफिस पिटेको छ । आक्रामक प्रचार र तीन ठाउँमा भएको प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया बटुलेर प्रदर्शन थालनी गरेको फिल्मले पहिलो दिनबाटै कमाईमा आफूलाई कमजोर सावित हुन दिएको छैन । पहिलो हप्ता ५ करोड नजिकको कमाई गरेको फिल्मले दोस्रो साता पनि कमाईमा उछाल कायम राखेको छ । 
 
बलियो ‘वर्ड अफ माउथ’को सहारामा पैसा छापिरहेको फिल्मले तन्नेरीदेखि वृद्ध-वृद्धासम्मलाई हलमा तानेको छ । हुल बाँधेर हल पुग्नेदेखि दोहोर्‍याई-तेहेर्‍याई फिल्म हेर्नेसम्मको संख्या बढ्दो छ । दर्शकबाट मिलेको उत्साहजनक साथ र काठमाडौंसहितका मल्टीप्लेक्सहरुले दोस्रो साता पनि उल्लेख्य मात्रामा शो उपलब्ध गराउनुले बक्सअफिसमा ‘महापुरूष’को आयू लामो देखिन्छ । 
 
दर्शक प्रतिक्रिया र व्यापारबाट उत्साहित फिल्मको टिमले पहिलो सातादेखि विभिन्न सेलिब्रेटीलाई बोलाएर फिल्म पनि देखाइरहेको छ । आइतवार काठमाडौंको एक हलमा आयोजित ‘विशेष शो’ कलाकारहरू अर्जुनजंग शाही, करिश्मा मानन्धर, सन्तोष पन्त, रमेश उप्रेती, रीमा विश्वकर्माले फिल्म हेरे । उनीहरुले फिल्म उत्कृष्ट बनेको बताउँदै समय र पैसा दुवै असुल रहेको धारणा राखे ।
 
karishma manandhar and rima biswokarma
 
करिश्माले नेपाली समाजको एउटा गम्भीर र यथार्थ कथा फिल्मले उठान गरेकोमा प्रशंसा गरिन् । ‘सुखी मात्र नभई सुखी हुनुपर्छ भन्ने फिल्मको सन्देश नै सशक्त छ । बुढ्यौलीमा महसुस हुने एक्लोपनमा चाहिने साथलाई फिल्ममा सरल रुपमा देखाईएको छ । फिल्म हेर्दा समय र पैसा पूर्ण रुपमा असुल हुन्छ’, उनले भनिन् । फिल्म हेर्दा आफू कति ठाउँमा भावुक भएको उनले बताइन् । 
 
कलाकार सन्तोष पन्तले ‘महापुरूष’ले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने बताए । ‘फिल्मले एउटा गतिलो सन्देश दिएको छ । यस्ता फिल्म बन्नुपर्छ । नेपाली समाजभित्रको गम्भीर विषयमा फिल्मकर्मीको ध्यान जानुपर्छ । र, ‘महापुरूष’ यसमा सफल छ,’ उनले भने । अभिनेता तथा निर्माता रमेश उप्रेतीले पनि एउटा उत्कृष्ट फिल्म हेर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे । 
 
आमाको साथमा फिल्म हेर्न पुगेकी मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले पटकथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनयलाई शतप्रतिशत अंक दिइन् । उनले भनिन्, ‘मेरो बुबा सानैमा वित्नु भयो । आमाले नै मलाई हुर्काउनु भयो । म एकल आमाको सन्तान हुँ । फिल्म हेरेपछि म सोच्दैछु कि उहाँ सुखी त हुनहुन्छ तर के खुसी पनि हुनहुन्छ ? यसविषयमा हामीले कुरा नै गरेका रहेनछौं ।’
 
फिल्मले एकल पिताको माध्यमबाट आमा र बुबा दुवैको एक्लोपनको कथा व्यक्त गरेको उनको भनाई छ । ‘कतिपय दृश्य मलाई सामान्य लाग्दा आमा भावुक हुनुभएको थियो । किनकि, उहाँलाई बढी कनेक्ट गर्‍यो,’ उनले अगाडि भनिन्, ‘आफ्नो बुबा-आमाको भावना बुझ्न चाहनुहुन्छ भने यो फिल्म सँगै बसेर हेर्नुहोला । उहाँहरूले मनमा दबाएका कुराहरु आँखाले बोल्नेछ’, रीमाले भनिन् । 
 
‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलता पश्चात् कलाकार रविन्द्र सिंह बानियाँको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री र अञ्जना बराईलीको अभिनय छ । बुढ्यौलीमा विधूर पुरुषको एक्लोपनको कथामा आधारित भएर ‘महापुरूष’ निर्माण भएको हो ।