Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एमालेबाट उठेका दाईलाई सर्लाहीमा भोट माग्दै निखिल

फिल्मीखबर, काठमाडौं, 2022/11/06
nikhil upreti
 
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । विभिन्न राजनीतिक दलबाट टिकट पाएका र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो क्षेत्रका मतदाता फकाउन व्यस्त छन् । यसपटक केही क्षेत्रमा फिल्मका कलाकारहरु पनि उम्मेदवार बनेका छन् । उम्मेदवार नबनेका कलाकारहरु भने आफन्तलाई भोट मागिरहेका छन् । 
 
अहिलेका राजनीतिक दलबाट देशको विकास सम्भव छैन भन्ने अभिव्यक्ति दिँदै आएका अभिनेता निखिल उप्रेतीलाई समेत केही दिनदेखि आफ्ना दाईका लागि भोट माग्न भ्याइनभ्याइ छ । उनका दाई हरि प्रसाद उप्रेती प्रतिनिधि सभा सदस्यतर्फ सर्लाही क्षेत्र नं. ३ बाट एमालेको उम्मेवार छन् । त्यसैले उनी दाईलाई जिताउनका लागि सर्लाहीमै बसेर जनतासँग भेट्दै भोट मागिरहेका छन् । 
 
शुक्रवार हरिवनमा आयोजित एक सभामा बोल्दै निखिलले राम्रो काम गर्नेलाई भोट दिन आग्रह गरे । उनले भने, ‘दाईलाई चुनावी अभियानमा साथ दिन म पनि हिँडेको छु । म हिँड्नुको पछाडि चुनाव मात्र होइन, मेरो अभियान पनि दर्शकसँग जोडिएको छ । तपाईंहरुले हेर्दिएकाले म निखिल उप्रेती भएको हुँ । त्यसैले मेरो बाँकी जीवन दर्शकहरुको दुःख र पीडामा मलम बन्नेमा हुनेछ ।’ 
 
निखिलले २०७८ सालमा देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन भएको एकीकृत शक्ति नेपालबाट राजनीतिक दुनियाँमा पाइला राखेका थिए । यो पार्टीले पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि विभिन्न क्षेत्रमा उम्मेदवार उठाएको छ । तर, निखिलले कुनै उम्मेदवारलाई सहयोग र समर्थन गरेका छैनन् । बरु, उनी एमालेबाट उठेका दाईलाई जिताउनका लागि मैदानमा उत्रिएका छन् ।