
बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छन् । उनले आइतवार विहान मुम्बईको एचएन रिलायन्स हस्पिटलमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय मिडियाले बताएका छन् । गत मार्चमा आलियाले लण्डनको अस्पतालमा भिडियो एक्स-रे गरेको तस्विर राख्दै आफू आमा बन्न लागेको खुसी साटेकी थिइन् ।
५ वर्ष लामो प्रेम सम्बन्धलाई १४ अप्रिल २०२२ मा आलिया र रणवीर कपूरले विवाहमा परिणत गरेका थिए । आलियाले छोरीलाई जन्म दिएको एचएन रिलायन्स हस्पिटल त्यही हो, जहाँ रणवीरका पिता तथा अभिनेता ऋषि कपूर भर्ना भएका थिए भने त्यहीँ निधन भएको थियो । आलिया र रणवीरले पिताको निधन भएको अस्पतालमा नै पहिलो बच्चालाई स्वागत गर्ने निर्णय गरेका थिए ।
आलियाले विवाह बन्धनमा बाँधिएको चार महिनामा आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । रणवीर र आलियाले पहिलो पटक एकसाथ काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ गत सेप्टेम्बरमा प्रदर्शन भएको थियो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । आमा-बुबा बनेका अलिया र रणवीरलाई प्रशंसक र बलिउडकर्मीबाट सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।

