फिल्म स्टारका अनेक किसिमका फ्यान हुन्छन् । कोही आफ्नो स्टारको नाममा शरीरमा ट्याटु नै खोपाउँछन् भने कोही आफ्नो स्टारको बारेमा नराम्रो बोलेको सुने जाइलाग्न तयार हुन्छन् । हलिउड र बलिउडमा मात्र होइन यसप्रकारका फ्यान नेपालमा पनि कयैन् छन् । आफ्नो स्टारलाई प्रत्यक्ष भेट्दा रुने-कराउनेदेखि बेहोस हुनेसम्मका परिदृश्य नेपालमै धेरै पटक देखिसकिएको छ ।
नेपाली फिल्मका एक नायकले भने धनी फ्यानहरु कमाएका छन् । ति नायक हुन्, आकाश श्रेष्ठ । उनलाई फ्यानहरुले सस्तोमस्तो चिज उपहार नै दिँदैनन् । शनिवार आफ्नो जन्मदिन सेलिब्रेसनमा आकाशले पाएको उपहार हेर्दा पनि उनले कमाएका फ्यानहरु कति धनी छन् भन्ने बुझ्न सकिन्छ । उनलाई एक हातमा सुनको ब्रासलेट, औंठी र दुवै कानमा सुनको टप उपहार दिएका थिए ।
उनको जन्मदिन मनाउनका लागि उनका फ्यानहरुले शनिवार काठमाडौंको होटल ए-वान् भेन्यूमा भव्य कार्यक्रम नै राखेका थिए । आकाश पनि फ्यानहरुसँग जन्मदिन मनाउन खरानी रंगको सुटबुटमा ठाँटिएर पुगेका थिए । उनको स्वागतमा फ्यानहरु फूलको माला लिएर होटलको गेट अगाडि तम्तयार भएर बसेका थिए । र, उनलाई देख्न साथ फूलको माला र खादाले टाउको नै पुरिदिए ।

उनलाई फूलको माला लगाउन फ्यानहरुबीच चलेको तछाडमछाड हेर्दा यस्तो लाग्थ्यो कि उनी कुनै चुनाव जितेका ठूला नेता हुन् । फूलमाला लगाउने काम सकिएपछि केक काट्ने कार्यक्रम सुरु हुन्छ । आकाशले आफूसँगै आएका अभिनेता राजिव जंग बस्नेतको साथमा केक काट्छन् र एक पाको उमेरको महिलालाई पहिलो केक खुवाउँछन् । त्यसपछि उनलाई फ्यानबाट गिफ्ट ओइरिन्छ ।
मिडियाको आग्रहमा उनले केक काटेकै ठाउँमा उपहारको पोको खोल्छन् । त्यसभित्र उनका लागि सुनको औंठी, ब्रासलेट र टप हुन्छ । महंगो उपहार देखेपछि आकाश लजाउँछन् । पहिलो केक खुवाएकै महिला उनलाई सुन पहिराउन तम्सिन्छन् तर आकाश मिडियाकै सामु सुन लगाउन असहज मान्छन् । तर, ती महिलाले अटेर गर्दै उनलाई औंठी, ब्रासलेट र कानमा टप लगाइदिन्छिन् ।
उनलाई फ्यानहरुले जन्मदिनमा हात र कानमा गरी करीब एक लाख बराबरको सुन उपहार दिएका थिए । साथै, सोही अवसरमा एक असाह्य व्यक्तिलाई ५० हजार नगद समेत हस्तान्तरण गरिएको थियो । आकाशले कति धनी फ्यान कमाएका रहेछन्, यसबाटै बुझ्न सकिन्छ । रोचक कुरा चाहिँ के थियो भने त्यहाँ उनलाई उमेर ढल्किएका महिला फ्यानहरुले सुन उपहार दिएको देखिन्थ्यो ।
आकाशको अभिनेत्री पूजा शर्मासँग राम्रो सम्बन्ध रहँदा दुवैका फ्यानहरुले एकअर्काको जन्मदिनमा उनीहरुलाई एकै ठाउँमा राखेर बेलुहा-बेहुली झैं सिंगार्ने गरेका थिए । दुवैलाई फ्यानहरुले सुनदेखि आइफोनसम्म उपहार दिने गर्थे । तर, अहिले दुवै अलग भएका छन् र फ्यानहरु पनि विभाजित छन् । त्यसैले आकाशले दुई वर्षयता एक्लै आफ्ना फ्यानहरुसँग जन्मदिन मनाउँदै आएका छन् ।

