Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाश श्रेष्ठ : ६ वर्षमा ६ फिल्म फ्लप

फिल्मीखबर, काठमाडौं, 2022/11/05
नेपाली फिल्मका चकलेटी हिरोहरुको सूचिमा नछुट्ने नाम हो, आकाश श्रेष्ठ । उनले आफ्नो लुक्सकै कारण युवापुस्तामा गजबको क्रेज बनाएका छन् । फिल्म ‘म त तिम्रै हुँ’बाट निशाराजनक डेब्यू गरेका उनलाई फिल्म ‘रामकहानी’ले पहिचान दिलाएको थियो । यसपछि उनी करिअरलाई लिएर चिन्तित हुनु परेन । उनको हातमा फिल्म टुटेको छैन भने म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । 
 
‘रामकहानी’पछि उनको दोस्रो हिट फिल्म ‘पोई पर्‍यो काले’ हो । तर, यी दुई फिल्मबाहेक उनका लागि सफलता आकाशको फल झैं बनेको छ । करिअरको ६ वर्षको अवधिमा उनी ६ फ्लप फिल्मका धनी भइसकेका छन् । डेब्यू फिल्ममै असफलताको झड्का पाएका उनको ‘तिमीसँग’, ‘ब्ल्याक’, ‘ड्रिम गर्ल’, ‘सम्झना विर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ फिल्महरु पनि सुपरफ्लपमा दरिए । 
 
Aakash Shrestha
 
यस वर्ष दुई फ्लप फिल्म दिएका उनको आगामी माघ २० गते नयाँ फिल्म ‘हिँड्दा हिँड्दै’ प्रदर्शन हुँदैछ । यो फिल्म व्यवसायिक रुपमा सफल भए उनको करिअरलाई ठूलो राहत मिल्नेछ । नभए, उनले यस वर्ष फ्लप फिल्ममा ह्याट्रिक मात्र गर्ने छैनन्, करिअर नै संकटमा पर्नेछ । अब आकाश करिअरलाई बचाउनका लागि भए पनि ब्यानर, स्क्रिप्ट र चरित्र छनोटमा गम्भीर हुनुपर्ने देखिन्छ ।
 
अभिनेत्री पूजा शर्मासँग उनको लामो समय नाम जोडियो । ‘रामकहानी’देखि यी दुईको फिल्म र म्यूजिक भिडियोमा सहकार्य टुटेन । पूजाकै आँड-भरोसामा आकाशले आफूलाई स्थापित गराएका हुन् भन्दा फरक पर्दैन । तर, अहिले उनीहरु दुई ध्रुव भएका छन् । अब उनीहरुबीच फिल्ममा सहकार्य हुने छाँट देखिन्न । त्यसैले आकाशलाई अब आफ्नै बलबुतोमा अगाडि बढ्नु पर्ने चुनौती छ । 
 
उनै, आकाश शनिवार आफ्नो जन्मदिन मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालमा कलाकारदेखि प्रशंसकहरुसम्मले जन्मदिनको शुभकामना दिइरहेका छन् । २०५० सालमा दाङमा जन्मिएका उनले ब्याचलरसम्मको अध्ययन गरेका छन् । पूजासँग टाढिएपछि उनी केही समयदेखि अभिनेत्री तथा मोडल करुणा श्रेष्ठको प्रेममा रहेको चर्चा छ । तर, दुवैले प्रेमको कुरा नकार्दै आएका छन् ।