Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिजुली’का लागि अडिसनबाट कलाकार छानिने

फिल्मीखबर, काठमाडौं, 2022/11/04
bijuli mukun
 
निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली’का लागि अडिसनबाट कलाकार छनोट गरिने भएको छ । कात्तिक २२ गते काठमाडौंमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा हुन लागेको अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार तथा अन्य सहायक चरित्रका लागि कलाकार छानिने निर्देशक विकास गिरीले जानकारी दिए । 
 
फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमाल अनुबन्ध भइसकेका छन् । दुई श्रृंखलामा निर्माण हुने फिल्मको कथा लेखन निर्देशक गिरी स्वयंको हो । लुना केसी फिल्मको निर्मातामा छिन् । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा कालु रानाको पनि अभिनय रहनेछ । फिल्ममा मुकुन ट्रान्सजेन्डरको भूमिकामा देखिने जानकारी प्राप्त छ । 
 
केदार भुसाल क्रियटिभ प्रोड्युसर रहने फिल्मको छायांकन आगामी माघ महिनाबाट थालनी गर्ने तयारीमा निर्माण टिम रहेको छ । हरि घले लामाले छायांकन गर्ने फिल्ममा एसोसियट निर्देशक शंकर धिताल, मुख्य सहायक निर्देशक आयुष बिसी र प्रोडक्सन म्यानेजरमा नेत्र बिस्ट रहेका छन् । यो फिल्मको पोस्टर डिजाइनको जिम्मेवारी ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले पाएका छन् । 
 
सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा फिल्म बन्ने निर्देशक गिरीले जानकारी दिए । ‘यो हिन्दू धर्मग्रन्थका पात्रको आधुनिक अनुशरण हो,’ उनले भने, ‘हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बन्नेछ ।’ सोसल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले दर्शकलाई फरक स्वाद दिने क्रियटिभ प्रोड्युसर भुसालले बताए ।