Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

किन भद्रगोल बन्छन् फिल्मका प्रिमियर ?

फिल्मीखबर, काठमाडौं, 2022/11/04
फिल्मको प्रिमियर के र कुन उद्देश्यका लागि गरिन्छ ? प्रिमियरको महत्त्व र अर्थ के हो ? यो बुझ्ने फिल्मकर्मी नेपालमा औंलामा गन्न सकिने मात्र छन् । फिल्मको राम्रो र नराम्रो पक्षबारे प्रतिक्रिया बुझ्न प्रिमियर राखिन्छ । र, यसका लागि फिल्मकर्मी र पत्रकारलाई निमन्त्रणा गरिन्छ । तर, नेपालमा फिल्मको प्रिमियर निर्माता, निर्देशक र कलाकारका आफन्त र इष्टमित्र केन्द्रित भइरहेका छन् । 
 
lakhey movie
 
नेपाली फिल्मका पछिल्ला प्रिमियरहरु हेर्ने हो भने गर्नेलाई भन्दा देख्नेलाई लाजको स्थिति छ । हलको सिट संख्याभन्दा दोब्बरलाई प्रिमियरमा बोलाइन्छ । अनि, सिट अभाव भएपछि भूईंमै बसेर फिल्म हेर्नुपर्ने अवस्था आउँछ । भएभरका आफन्तलाई बोलाउनु, एउटा निमन्त्रणामा जन्ती लिएर जानु, हलको क्षमता नहेरी अन्धाधुन्ध अतिथी डाक्नुले फिल्मका प्रिमियर भद्रगोल बन्ने गरेका छन् । 
 
यसै हप्ता काठमाडौंमा भएको फिल्म ‘लाखे’को प्रिमियरले पनि नेपाली फिल्मको प्रिमियर कति हरिविजोग हुन्छ भन्ने थप प्रष्ट्याउँछ । विश्वज्योतीको दुईवटा हल नै प्रिमियरका लागि ‘बुक’ गरिएको थियो तर फिल्मको टिमले आफन्तदेखि फिल्मकर्मीसम्म अन्धाधुन्ध बोलाउँदा सिट नपाएर नाम चलेका कति कलाकारहरु भूईंमै बस्न बाध्य भएका थिए भने कति फिल्म नहेरी घर फर्किएका थिए । 
 
‘लाखे’ मात्र होइन, यसअघि धेरै नेपाली फिल्मको प्रिमियरमा यो नियति देखिएको छ । गत भदौमा प्रदर्शित फिल्म ‘झिँगेदाउ’को प्रिमियर पनि त्यस्तै भद्रगोल थियो । हलको सिट क्षमताअनुसार कति अतिथी बोलाउने भन्नेमा फिल्मको टिम सजग हुन सकेको खण्डमा मात्र प्रिमियर व्यवस्थित हुन सक्छ । सबैलाई खुसी पार्न प्रिमियर राख्ने हो भने त्यसको न कुनै अर्थ न त औचित्य रहन्छ ।
 
lakhey movie 2
 
नेपाली फिल्मको प्रिमियर उपलब्धिमुलक पनि हुन सकेका छैनन् । प्रिमियरमा बोलाइने फिल्मकर्मीहरुले पर्म लगाउन वा पैंचो तिर्नलाई भए पनि फिल्मबारे नराम्रो बोल्ने आँट गर्दैनन् । र, निर्माण टिम यसैमा गदगद् हुन्छ । तर, प्रिमियरमा मिलेको स्याबासी फिल्म चलेपछि दर्शकबाट मिल्दैन । त्यसैले आजभोली प्रिमियरमा मिल्ने प्रतिक्रियालाई दर्शकले पत्याउनै छाडेको अवस्था छ । 
 
तस्विर : सुरेन्द्र थापा 'स्माइल'