.jpg)
हाँस्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ह्यारी कि प्यारी’ पूर्व घोषित मितिभन्दा झन्डै तीन महिना पछाडि सरेको छ । यसअघि कात्तिक २५ गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब यो फिल्म आगामी माघ २० गतेबाट प्रदर्शन हुने भएको छ । चुनाव र विश्वकपले गर्दा निर्माण टिमले फिल्मको प्रदर्शन मिति धकलेको हो ।
यसै साता काठमाडौंमा फिल्मको एक क्लब गीतको छायांकन र पोस्टरका लागि कलाकारहरुको फोटोसुट समेत गरिएको थियो । यो फिल्मलाई निर्माता, गीतकार तथा चिकित्सक भोला रिजालका छोरा डा. कपिल रिजालले निर्माण तथा निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकिय फिल्म हो । निर्देशक रिजालले परिवारको साथमा बसेर हेर्न मिल्ने गरी फिल्म बनेको बताएका छन् ।
यस फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापा केमियो भूमिकामा प्रस्तुत छिन् । डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा कथा रिजाल स्वयं, पटकथा/संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले लेखेका हुन् ।
फिल्ममा भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । पेशाले दन्त चिकित्सक रहेका रिजालले यसअघि केही सर्ट फिल्मको निर्देशन गरेका थिए ।

