.jpg)
यस वर्ष कुनै नायकको सबैभन्दा धेरै फिल्म प्रदर्शनमा आएको छ भने त्यो सौगात मल्लको हो । यस वर्षको ६ महिनाको अवधिमा उनी अभिनीत ‘मन्त्र’, ‘कबड्डी ४’, ‘राधा’, ‘माइकल अधिकारी’ र ‘दुई नम्बरी’ फिल्म प्रदर्शनमा आइसकेका छन् । जसमध्ये ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ मात्र ब्लकबस्टर रहे । यसबीच, शुक्रवारबाट उनको नयाँ फिल्म ‘लाखे’ले देशव्यापी प्रदर्शन थालनी गरेको छ ।
बुधवार काठमाडौंमा भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ भने छठको छेकोमा रिलिज भएको फिल्म ‘महापुरुष’का कारण सिंगल थिएटर पनि पर्याप्त मात्रामा पाएको छैन । यो अवस्थामा फिल्मलाई हल संख्या बढाउन बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । र, ‘लाखे’ सफल भए यस वर्ष सौगातले हिटमा ह्याट्रिक गर्नेछन् ।
सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्ममा सौगात मल्लका अलावा अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो ।
सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । यस फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।

