.jpg)
फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्देशकिय यात्रा थालनी गरेका विशाल भण्डारी केही वर्षयता कमेडी रियालिटी शोमा व्यस्त छन् । उनको समुहले जन्माएको रियालिटी शो ‘कमेडी च्याम्पियन’ले ठूलो चर्चा कमायो । यतिबेला भण्डारी ‘कमेडी क्लब’सँग आबद्ध छन् । उनले लकडाउनको समयमा ‘कहानी तिम्रो मेरो’ फिल्म पनि घोषणा गरेका थिए । तर, यो फिल्म अझै निर्माण हुन सकेको छैन ।
यसबीच, विशालले नेपाली फिल्मको यूट्युब राइट्स खरिद गर्दै आएको कम्पनी ओएसआर डिजिटलसँग नयाँ फिल्मका लागि हात मिलाएका छन् । ओएसआरका सञ्चालक ओम प्रकाश अग्रवाल निर्माता रहने फिल्मको निर्देशन भण्डारीले गर्नेछन् । बिहीवार भण्डारी र अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे । दुवैले फिल्मलाई अब्बल र स्तरीय बनाउन कुनै कसर नछाड्ने बताएका छन् ।
फिल्मको कथा यम थापाले तयार पारेका हुन् । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा निर्माण हुने फिल्मका लागि केही दिनमा कलाकार छनोट गरिने जनाइएको छ । फिल्मको नामको विषयमा पनि छलफल भइरहेको निर्देशक भण्डारीले बताए । यस वर्ष फिल्मको सम्पूर्ण छायांकन गरेर २०८० सालको विजयादशमीमा प्रदर्शन गर्ने योजना रहेको निर्माता अग्रवालले जानकारी दिए ।
फिल्मको बारेमा भण्डारीले भनेका छन्, ‘यम थापाजी र म एक विषयमा विगत ३ वर्षदेखि लगातार बहसमा थियौं । विभिन्न चरणको लेखाई र करेक्सनपछि आएको नतिजा हेर्दा दुवैलाई यहि नै हो बनाउन खोजेको विषय र भन्न खोजेको कथा भन्ने निष्कर्ष आएकोले अब भने फिल्म बनाउने सहमती गर्यौं । विषयवस्तुलाई लिएर ढुक्क छौं । चाँडै फिल्मको बारेमा सम्पूर्ण जानकारी गराउने छौं ।’

