अभिनेत्री करिश्मा मानन्धरलाई सुन्दरताको पर्याय मानिन्छ । उमेरले ५० वसन्त पार गरे पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । त्यसैले पनि उनको हमेशा अभिनयभन्दा सुन्दरताको नै बढी चर्चा हुने गरेको छ । उनी राम्रो ‘फेसन सेन्स’ भएकी अभिनेत्री पनि हुन् । कुनै सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा करिश्माले लगाउने आकर्षक पहिरनले धेरैको ध्यान आकर्षित गरेको हुन्छ ।
उमेर ढल्किँदै गएपछि अध्ययन र राजनीतिमा सक्रिय भएकी करिश्मा फिल्म अभिनयमा भने केही वर्षयता निस्क्रिय जस्तै थिइन् । उनलाई फिल्मको प्रस्तावहरु बाक्लै पुगे पनि काम गर्ने रुचि नै देखाइनन् । हिरोइनको भूमिकाभन्दा आमा र दिदीको भूमिकाबाट प्रस्ताव बढी आउन थालेपछि उनले फिल्ममा काम गर्न नचाहेको चर्चा पनि चल्यो । तर, करिश्माले यो कुरालाई नकारेकी छन् ।
आफू अभिनीत फिल्म ‘बगान’को मंगलवार गीत रिलिज कार्यक्रममा उनले भनिन्, ‘मलाई आमा त के हजुरआमाको रोल गर्न पनि कुनै समस्या छैन । तर, मैले सानो रोल गरेर दर्शकको अपेक्षालाई निराशामा परिणत गर्न चाहन्न थिएँ । मैले निभाउने भूमिकामा केही नयाँ होस् भन्ने चाहन्थेँ । ‘बगान’मा मैले खोजेको जस्तो भूमिका थियो र गरेँ । मलाई जस्तोसुकै रोल गर्न पनि आपत्ति छैन ।’
उनले ‘हाई ममी’ र ‘बाई ममी’ भन्ने खालका रोलमा आफू काम गर्न तयार नभएको स्पष्ट पारेकी छन् । ‘मैले ‘वान वे’ फिल्ममा पृथक भूमिका निभाएको थिएँ । उमेरसँगै मान्छेले आफूलाई अर्को धारतिर लैजानु पर्छ । त्यसका लागि म ‘हाई ममी’ र ‘बाई ममी’ भन्ने रोल गर्न तयार थिइनँ । ग्ल्यामरस हिरोइनको जुन छाप छ, त्यसलाई कायम राख्नुपर्ने बाध्यता मलाई जहिल्यै रह्यो,’ उनले भनिन् ।
आफूले करिअरमा एउटा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको गुनासो पोख्दै उनले जहिले पनि मेकअप र लुगामा मात्र ध्यान दिनुपर्ने बाध्यता रहेको बताउँछिन् । ‘बगान’मा भने आफूले खोजेको जस्तो भूमिकामा काम गर्न पाएको र योङ युवतीको आमा भएर काम गर्दा गर्व महसुस भएको उनी स्मरण गर्छिन् । यो फिल्ममा आफ्नो उमेरअनुसारको भूमिका रहेको उनको भनाई छ ।
उनले दर्शक र मिडियाले आफूलाई ग्ल्यामरस हिरोइनको रुपमा चिनेकोप्रति असन्तुष्टि नरहेको पनि बताएकी छन् । उनी भन्छिन्, ‘जति बेला मैले फिल्ममा काम गरिरहेको थिएँ, त्यसबेला मलाई राम्री देखिनु पर्छ भन्ने दबाब रहन्थ्यो । त्यसैले मैले फरक भूमिका गर्न सक्दैन होला भनेर त्यसप्रकारको भूमिका अफर नै आएन । ‘बगान’मा भने मैले करिअरभर गर्न खोजेको भूमिका पाएको छु ।’
केही समय फिल्ममा ग्याप रहनुको कारण आफूले खोजेको जस्तो भूमिका नपाउनु रहेको करिश्माको तर्क छ । ‘हो, मेरो फिल्ममा केही समय ग्याप रह्यो । फिल्महरु अफर त आउँथे तर मलाई चित्त बुझ्दैन थियो । म चाहिँ त्यो भूमिकामा केही होस् भन्ने चाहन्थेँ । त्यसैले केही समय ग्याप रह्यो,’ उनले भनिन् । ‘बगान’ले उठाएको कथा नेपाली समाजको गहन विषयवस्तु रहेको उनको दावी छ ।

