Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरुष’ : कमाई र दर्शक प्रतिक्रिया तगडा

फिल्मीखबर, काठमाडौं, 2022/10/31
नेपाली फिल्ममा कि हाँसो कि आँशु विकिरहेको छ । जुन फिल्ममा यी दुई तत्वको बलियो र अर्थपूर्ण समिश्रण हुन्छ, ती फिल्मले दर्शक नपाउने कुरै आउँदैन । ‘छक्का पञ्जा’, ‘कबड्डी’ र ‘नाईं नभन्नू ल’ सिरिज यसका गतिला उदाहरण हुन् । अब यस्तै उदाहरण बन्ने बाटोमा छ, फिल्म ‘महापुरुष’ । हाँसो र आँशुको बलियो जगमा उभिएको यो फिल्मले यतिबेला दर्शकलाई रिझाइरहेको छ । 
 
एकल पिताको एक्लोपन र सन्तानका लागि गर्ने त्याग-समर्पणको कथामाथि निर्माण भएको फिल्मले प्रदर्शनको दिनदेखि दर्शकको अपत्यारिलो भीड हलमा तानेको छ । फिल्म हेर्न ८०/९० वर्षसम्मका वृद्धवृद्धाहरु लौरो र सन्तानको साहारामा हल पुगिरहेका छन्, नेपाली फिल्ममा यस्तो दृश्य विरलै देख्न पाइन्छ । हिन्दी र अंग्रेजी फिल्म रुचाउने तन्नेरी पुस्तालाई पनि फिल्मले हल तानेको छ ।  
 
mahapurus nepali movie
 
प्रदर्शनको पहिलो दिनदेखि तेस्रो दिनसम्म सार्वजनिक विदा पर्दा फिल्मलाई लोट्री नै पर्‍यो । तीन दिनको विदामा फिल्मले ३ करोड ३८ लाख (पहिलो दिन एक करोड, दोस्रो दिन डेढ करोड र तेस्रो दिन ८८ लाख) कमाएको छ । सोमवारको व्यापार केही खस्किए पनि देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिनमा दर्शक अकुपेन्सी ६० प्रतिशतसम्म छ । विना विदामा पनि यो अकुपेन्सी सुखद् हो । 
 
समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मलाई दर्शकले भने ‘मास्टरपिस’ भनेका छन् । आमा-बुबा गुमाएका सन्तानहरु फिल्म हेरेर भावुक हुँदै निस्किएका छन् भने अन्यलाई पनि फिल्मले उतिक्कै छोएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा धेरै दर्शकहरुले ‘महापुरुष’लाई ‘महा फिल्म’को समेत संज्ञा दिएका छन् । योभन्दा शक्तिशाली ‘वर्ड अफ माउथ’ फिल्मका लागि अरु हुन सक्दैन ।
 
नेपाली समाजभित्रको एउटा गम्भीर विषयवस्तु, सरल तर कसिलो प्रस्तुति, मनछुने र चोटिलो संवाद, हरेक कलाकारहरुको उम्दा अभिनयले दर्शकलाई फिल्मले हलमा बाँधेर राख्न मात्र सफल छैन, हाँस्दा हाँस्दै रुवाएको छ अनि रुवाउँदा रुवाउँदै हँसाएको छ । दर्शकबाट मिलेको उम्दा प्रतिक्रिया र व्यापारिक रिपोर्ट हेर्दा ‘महापुरुष’ले बक्सअफिसमा महायात्रा गर्न सक्ने सम्भावना देखिन्छ । 
 
व्यापारमा ठूलो गिरावट नआए फिल्मले पहिलो हप्तामै लगानी उठाएर हिटतर्फ पाइला अगाडि बढाउन सक्नेछ । प्रदीप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली,रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याललगायतको अभिनय छ ।