
दिपावलीको अघिल्लो दिन बलिउडका दुई ठूला फिल्मको बक्सअफिसमा भिडन्त भएको थियो । अक्षय कुमार स्टारर ‘राम सेतु’ र अजय देवगनको ‘थ्यांक गड’ले २५ अक्टोबरबाट प्रदर्शन थालनी गरेका थिए । ठूला स्टार भएका यी दुई फिल्मले दिपावलीमा राम्रो कमाई गर्ने आँकलन गरिएको थियो । तर, एक हप्ताको व्यापारिक अंक हेर्दा दुवै फिल्म अपेक्षाकृत रुपमा कमाउन चुकेका छन् ।
यी दुई फिल्ममध्ये ‘राम सेतु’को कमाई सन्तोषजनक छ । तर, ‘थ्यांक गड’ फ्लप हुने बाटोमा छ । अक्षय कुमारको फिल्मले पहिलो दिन १५ करोडको सानदार ओपनिङ गरेको थियो । त्यस्तै, दोस्रो दिन ११ करोड ४० लाख, तेस्रो दिन ८ करोड ७५ लाख, चौंथो दिन ६ करोड ५ लाख, पाँचौं दिन ७ करोड ३० लाख र छैटौं दिन ७ करोड २५ लाख कमाउँदै ६ दिनमा ५६ करोड छापेको छ ।
अजय देवगन र सिद्धार्थ मल्होत्रा अभिनीत ‘थ्यांक गड’ले भने पहिलो दिन न निराशाजनक न उत्साहजनक ओपनिङ गर्न सक्यो । ८ करोड १५ लाखको ओपनिङ गरेको फिल्मको दोस्रो दिनबाट व्यापारमा गिरावट आउन रोकिएको छैन । ६ दिनमा फिल्मले २९ करोड २५ लाख कमाएको छ । फिल्मको ओरालो लाग्दो व्यापार हेर्दा लाइफ टाइम कलेक्सन ४०/४५ करोडमा समेटिने देखिन्छ ।
पहिलो हप्ता अपेक्षाभन्दा कम कमाई गरे पनि ‘राम सेतु’ले बक्सअफिसमा लामो यात्रा गर्न सक्नेछ । तर, १ सय ५० करोडको लागतमा निर्माण भएको यो फिल्मले लगानी उठाउने सम्भावना भने न्यून छ । फिल्मका लागि सय करोडको आँकडा पनि धेरै टाढा देखिन्छ । यद्यपि, फिल्मलाई ‘वर्ड अफ माउथ’ भने बलियो मिलेको छ । आगामी शुक्रवारबाट यो फिल्म नेपाल पनि लाग्दैछ ।

