Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उचाईं’को गीतमा बलिउड हस्तीले किन लगाए ढाकाटोपी ?

फिल्मीखबर, काठमाडौं, 2022/10/31
पछिल्लो समय विदेशी फिल्म छायांकनका लागि नेपाल रोजाईमा पर्दै गएको छ । एउटा स्टूडियोभित्र कल्पना गरिने हिमालदेखि वर्षौं पुराना धार्मिक स्थलसम्मका दृश्य नेपालमा वास्तविक रुपमै कैद गर्न पाइने हुँदा विदेशी फिल्मका मेकरहरु लोभिने गरेका छन् । त्यसैले नेपालमा विदेशी फिल्मको छायांकन गर्ने क्रम बढ्दो छ र यसले नेपालको पर्यटन प्रवद्र्धनमा धेरै हदसम्म सघाएको छ । 
 
यतिबेला नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाईं’ चर्चामा छ । २०७८ सालमा सगरमाथा र त्यसको आसपासका क्षेत्रमा यो फिल्म खिचिएको थियो । गत महिना सार्वजनिक फिल्मको ट्रेलरमा पनि नेपालका हिमालहरुलाई लोभलाग्दो रुपमा देखाइएको छ । बलिउडका नामी हस्तीहरुको अभिनय रहेको यो फिल्म नेपालको पर्यटन प्रवद्र्धनमा एउटा कोशेढुंगा सावित हुन सक्नेछ ।
 
Uunchai
 
यही कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उचाईं’को गत साता ‘केटीको केटीको’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीतमा फिल्मका मुख्य कलाकारहरु अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीले नेपाली ढाकाटोपी लगाएर नृत्य गरेका छन् । फिल्मको कथा नेपालसँग जोडिएकाले गीतमा कलाकारहरुले ढाकाटोपी लगाएर नृत्य गरेको बुझ्न गाह्रो पर्दैन ।
 
यो गीतको छायांकन मुम्बईको एक होटलमा भएको थियो । अमिताभ, डेनी, अनुपम र बोमनको ५० वर्षे मित्रताको अवसरमा गीत तयार पारिएको छ । गीत लेखन र भिडियो निर्माणको प्रक्रियाबारे निर्माण कम्पनी राजश्रीले तयार पारेको एक भिडियोमा रचनाकार इरशाद कामिलले ‘केटी’ भन्ने शब्दले नेपालमा युवती भन्ने बुझाउने र गीतका शब्दहरुले नेपालको प्रतिनिधित्व गर्ने बताएका छन् । 
 
त्यस्तै, फिल्मका कस्टुम डिजाइनर टेरेन्स लोबोले नेपालबाट ढाकाटोपी झिकाएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो नेपालको परम्परागत टोपी हो । पात्रहरु नेपालको भ्रमणमा निस्कने विषय भएकाले मैले टोपी उपलब्ध गराउन नेपालमा सम्पर्क गरेँ । गीत छायांकनभन्दा एक रात अघि ढाकाटोपी आइपुग्यो । अमिताभ, डेनी, अनुपम र बोमनले टोपी एकदमै मन पराउनुभयो ।’ 
 
फिल्मको छायांकनका लागि अनुपम र बोमनसँगै परणिती चोपडालगायतका कलाकारहरु नेपालमा झन्डै एक महिना बसेका छन् । अमिताभ भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेका थिए । उनले मुम्बईको स्टूडियोभित्र नेपाल महशुस गरेका थिए । त्यस्तै, डेनीको नेपालमा सिन थिएन । नेपालमा यो फिल्म छायांकनका लागि २० करोड नेपाली खर्च भएको जानकारी प्राप्त छ ।