.jpg)
‘गोर्खा : बिनिथ द ब्रेभरी’का निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘अन्तिम संस्कार’को छायांकन पूरा भएको छ । जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंमा ४० प्रतिशत छायांकन गरेपछि फिल्म प्याकअप भएको हो । निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले फिल्मको छायांकन सकिँदासम्म डेढ करोड खर्च भएको जानकारी दिए ।
सांस्कृतिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठलगायतको अभिनय छ । सगरमाथाको आरोहणपछि अभिनेत्री पुनले ‘अन्तिम संस्कार’मा काम गरेकी हुन् ।
.jpg)
यो फिल्मको पोस्ट प्रोडक्सनको काम लण्डनमा हुने निर्देशक शाहीले जानकारी दिए । यसअघि उनले आफू निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को पोस्ट प्रोडक्सनको काम पनि लण्डनमा गरेका थिए । उनी लामो समयदेखि लण्डनमा बस्दै आएका छन् । ‘अन्तिम संस्कार’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् । फिल्मलाई अर्को वर्षको मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

