
भारतीय बक्सअफिसमा ठूलो रेकर्ड बनाएको फिल्म ‘द कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्री प्रायः आफ्नो अभिव्यक्तिका कारण चर्चामा आउने गरेका छन् । उनी सधैं बलिउड फिल्म र कलाकारमाथि निशाना साँधिरहेका हुन्छन् । साना बजेटका फिल्म चम्किरहेको अवस्थामा ठूला बजेटका फिल्म असफल भइरहेकोप्रति विवेकले एकपटक फेरि बलिउडलाई निशाना बनाएका छन् ।
शनिवार उनले ट्विटरमा चार साना बजेटका फिल्मको व्यापारको कुरा उल्लेख गर्दै लेखेका छन्, ‘चार साना बजेटका फिल्म, जसमा न स्टार छन् न गतिलोसँग मार्केटिङ भयो र न वितरकको सहयोग नै मिल्यो । ‘द कश्मीर फाइल्स’, ‘कार्तिकेय’, ‘कन्तारा’ र ‘रकेट्री’ ले बक्सअफिसमा करीब ८ सय करोडको व्यापार गर्यो । र, यी चार फिल्मको प्रोडक्सनमा करीब ७५ करोड खर्च भएको थियो ।’
उनले ट्विटमार्फत् बलिउडलाई प्रश्न गर्दै लेखेका छन्, ‘के बलिउड अन्धो, बहिरो र लाटो भएको हो ? बलिउड यो साधारण गणित न सम्झन्छ न सिक्छ ।’ उनले सिधा शब्दमा ठूलो बजेटमा फिल्म बनाउनुभन्दा बलियो कथा र यूनिक फिल्ममा ध्यान दिनुपर्ने सन्देश बलिउडलाई दिएका छन् । हुन पनि, बलिउडलाई यतिबेला ठूला स्टार र ठूला बजेटका फिल्मभन्दा यूनिक फिल्मको खाँचो छ ।

