दीपेन्द्र के. खनाल बजारमुखी फिल्ममा रमाउने निर्देशकमा पर्दैनन् । ‘पशुपति प्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता फिल्मले उनलाई समाजको मुद्धा उठाउने निर्देशकको चिनाएको छ । र, उनी निर्देशित फिल्मले अब्बल समीक्षा पाउने गरेका छन् । तर, रोचक कुरा छ भने उनी निर्देशित फिल्महरु समीक्षात्मक रुपमा अब्बल ठहरिए पनि बक्सअफिसमा भने त्यसअनुरुप चम्किएका छैनन् ।

नेपालमा समीक्षकले राम्रो भनेका फिल्म पत्तासाफ भएका र नराम्रो भनेका फिल्म ब्लकबस्टर भएका उदाहरण कयैन् छन् । दीपेन्द्र निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’को हकमा पनि यस्तै भएको छ । यतिबेला प्रदर्शनरत यो फिल्मलाई समीक्षकहरुले निर्देशक खनालको कमजोर उत्पादन भनेका छन् । तर, बक्सअफिसमा यही फिल्मले दर्शक तानिरहेको छ र व्यापार बढाउँदै लगेको छ ।
शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको यो फिल्मले पहिलो हप्तामा साढे ३ करोडमाथि कमाई गरेको निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यो आँकडा सत्य हो भने फिल्मको पहिलो हप्ताको व्यापार आक्रामक हो । तिहार सकिए पनि आइतवारसम्म सार्वजनिक विदा भएकाले फिल्मले व्यापारमा थप उछाल ल्याउने सम्भावना छ ।
निर्देशक खनाल ‘के घर के डेरा’लाई राम्रो समीक्षा नआएकोमा दु:खी वा निराश छैनन् । उनी यो फिल्म आफूले समीक्षाका लागि नभइ दर्शकका लागि बनाएको बताउँछन् । समीक्षा हेरेर फिल्म बनाए हलमा दर्शक नआउने उनको अब स्पष्ट बुझाई छ । उनले अघिल्ला फिल्ममा यो कुरा भोगेका पनि छन् । बक्सअफिस र समीक्षाको जहिल्यै उल्टो आँकडा हुने गरेको खनाल बताउँछन् ।
उनी भन्छन्, ‘हो, ‘के घर के डेरा’को समीक्षा राम्रो आएको छैन तर, हलमा दर्शकको चाप उल्लेख्य छ । हरेक सिनमा दर्शक ताली बजाउँदै उफ्रिएका छन् । दर्शकले फिल्म मन पराएका थिएनन् भने यो हुँदैन थियो । मेरो हिसाबमा समीक्षा र बक्सअफिस उल्टो बाटोमा हिँड्दो रैछ । नेपालमा निकै राम्रो समीक्षा आएका फिल्ममा दर्शक कम र नराम्रो भनेको फिल्ममा बढी हुने गरेका छन् ।’
.jpg)
उनी ‘के घर के डेरा’लाई आफूले पैसा कमाउने हिसाबमा बनाएको धक नमानी बताउँछन् । ‘मबाट फरक फिल्म हेरिरहेकालाई ‘के घर के डेरा’बाट चित्त नबुझ्न सक्ला । म भोलीका दिनमा त्यस्तो फिल्म पनि बनाउँछु । तर, सधैं त्यस्तो फिल्म बनाएर टिक्नै नसक्ने भैयो । निर्माता पनि त बचाउनु पर्यो,’ उनी भन्छन्, ‘हामीले आफ्नो रहरमा कथा भन्ने भन्दैमा घर-खेत डुबाउनु भएन नि ।’

