महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ले प्रदर्शन यात्रा सुरु गरेको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको एउटा ठूलो वर्गले प्रतिक्षा गरेको यो फिल्म काठमाडौंसहित चितवन र पूर्वाञ्चलमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएपछि थप प्रतिक्षीत बनेको थियो । अब यसको प्रभाव फिल्मको इनिसियल व्यापारमा पर्न सक्ने देखिन्छ ।
बलियो स्टारकास्ट, ट्रेलरले दिलाएको हाइप, गतिलो प्रचार, प्रिमियरको प्रतिक्रियाका कारण फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा उच्च शो र सिंगल स्क्रिन पर्याप्त पाएको छ । एड्भान्स बुकिङ पनि सुखद् देखिएकाले फिल्मले आक्रामक ओपनिङ गर्ने आधार बलियो छ । शुक्रवारदेखि आइतवारसम्म तीन दिन सार्वजनिक विदा भएकाले यसको फाइदा पनि फिल्मले राम्रै उठाउन सक्नेछ ।

सफल फिल्म दिँदै आएको महजोडी र हिट फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराईको सहकार्य भएकाले उनीहरुलाई ‘महापुरुष’ हिट हुनैपर्ने र बनाउनै पर्ने दबाब छ । अब दर्शकबाट मिल्ने ‘वर्ड अफ माउथ’ले यसको निर्धारण गर्नेछ । यद्यपि, तीन ठाउँमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेकाले यो फिल्म हलमा लामो रेसको घोडा बन्न सक्ने सम्भावना बलियो देखिन्छ ।
एकल पिताको कथामाथि निर्माण भएको फिल्ममा रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा प्रदीप आफैंले लेखेका हुन् ।
समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि। गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यू गरेका छन् ।

