
हरेक वर्ष चाडपर्वमा कयैन् गीतहरु सार्वजनिक हुने गरेका छन् । गीतसंगीतले चाडपर्वको महत्त्व मात्र झल्काउँदैन, रौनकता पनि थप्छ । दशैं झैं तिहारमा पनि गीतहरुको बाढी आउने गरेको छ । र, यस वर्ष पनि आए । तर, वर्षौंदेखि केही गीतहरुले तिहार धानेर बसेका छन् । त्यसमध्ये केही गीत नेपाली फिल्मका छन् । यहाँ हामीले तिहारका चर्चित फिल्मी गीतहरु प्रस्तुत गरेका छौं ।
‘तिहारै आयो, लौ झिलिमिली’
हरेक वर्षको तिहारमा सर्वाधिक घन्कने गीत हो यो । यो गीतले तिहार नजिकिएको आभाष गराउँछ । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको संगीत तथा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी खेल्नेहरु यही गीत गाएर देउसी खेल्न सुरुवात गर्छन् ।
‘दियो बाली साँझको’
तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘चिनो’को ‘दियो बाली साँझको’ बोलको तिहार गीत पनि दशकौंदेखि दर्शकमाझ लोकप्रिय छ । जब यो गीत घन्कन थाल्छ तब तिहारले घर-आँगन टेकेको महशुस गराउँछ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको गीतको भिडियोमा स्वर्गीय सुभद्रा अधिकारी र स्वर्गीय कलाकार केशव भट्टराईको अभिनय छ ।
‘निधारमा लर्काएर सप्तरंगी टीको’
राजेन्द्र सलभको निर्देशनमा बनेको फिल्म ‘विजय पराजय’मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले पनि तिहारको महत्त्व झल्काउँछ । यो गीत दिनेश अधिकारीले लेखेका हुन् । गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतमा नायकद्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा फिचर छन् । गीतमा बहिनीप्रति दाईभाईको प्रेम दर्शाइएको छ ।
‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’
अनिल संग्रौलाद्वारा निर्देशित फिल्म ‘माइती’ मा समावेश यो गीत तिहारमा बज्ने निकै चर्चित गीत हो । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंह फिचर यस गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाईटीका लगाउँदै गरेको परिवेश समावेश छ ।
‘अधरमा आज उनकै छ गीत’
तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत’ गीतले पनि तिहारको बयान गर्छ । गीतमा मनिला सोताङ्गको आवाज छ । टीका लगाएको र तिहारको थप परिवेशलाई गीतमा समेटिएको छ । आकाश अधिकारी निर्देशित फिल्म ‘कोहिनूर’ मा समावेश गरिएको ‘यसपालिको तिहारै रमाइलो’ गीत पनि तिहारको बेला सर्वाधिक घन्किने गीतमध्येमा पर्ने गर्छ ।

