
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को निर्माण पक्षले कलाकारहरुको क्यारेक्टर झल्कने तस्विरहरु सार्वजनिक गरेको छ । तिहारको अवसर पारेर मंगलवार सार्वजनिक गरिएको तस्विरमा अभिनेता विपिन कार्कीको लुक्सले ध्यान खिच्छ । उनी पाको उमेरको पुरुषको रुपमा चित्रित छन् । गालामा गलबन्दी, शिरमा टोपी र आँखामा चस्मा लगाएका उनका दाह्री-जुँगा सेताम्मे छन् ।
निर्माण टिमले सार्वजनिक गरेको अर्को तस्विरमा विपिन अनुहारमा अविर र गालामा माला लगाएर अभिनेत्री अरुणा कार्कीसँग खुसी मुद्रामा गफिँदै देखिएका छन् । उनको गेटअप हेर्दा फिल्ममा उनी राजनीतिज्ञको भूमिकामा हुनसक्ने आँकलन गर्न सकिन्छ । अन्य तस्विरमा फिल्मका कलाकारहरु दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत पनि देखिएका छन् ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।

