Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरूष’को कथा मेरो जीवनसँग मिल्दैन : हरिवंश आचार्य

फिल्मीखबर, काठमाडौं, 2022/10/23
फिल्म होस् वा टेलिसिरियल, कलाकार हरिवंश आचार्यले थरीथरीका चरित्र बाँचेका छन् । उनले बाँचेका अधिकांश चरित्र नेपाली समाजभित्रकै हुन् । यसैले पनि उनले निर्वाह गरेका हरेक चरित्र दर्शकको मनमा बसेका छन् । उनले फिल्म ‘बलिदान’मा निर्वाह गरेको चरित्र उनको करिअरकै सबैभन्दा सशक्त मानिन्छ । सम्भवतः त्यसपछि उनी फिल्ममा सशक्त भूमिकामा देखिएका छैनन् ।
 
भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरूष’मा निर्वाह गरेको चरित्र भने उनी ‘बलिदान’पछिको सशक्त र गम्भीर रहेको बताउँछन् । ‘मैले ‘बलिदान’पछि ‘महापुरूष’मा गम्भीर चरित्रमा अभिनय गर्ने मौका पाएको छु । मलाई प्रायः यस्ता भूमिका अफर हुँदैनन् । मलाई झैँ दर्शकलाई पनि मैले निभाएको चरित्र उत्कृष्ट लाग्ने विश्वास छ ।’
 
फिल्ममा उनले एकल पिताको भूमिका निर्वाह गरेका छन् । ‘महापुरूष’को ट्रेलर सार्वजनिक भएपछि धेरैले हरिवंशकै जीवनबाट फिल्म प्रभावित रहेको प्रतिक्रिया जनाएका छन् । किनकि, फिल्ममा उनलाई बुढ्यौली उमेरमा विवाह गर्न खोजेको पात्रको रुपमा चित्रण गरिएको छ । हरिवंशले पनि वास्तविक जीवनमा पहिलो श्रीमतीको निधनपछि बढ्यौली उमेरमा दोस्रो विवाह गरेका थिए । 
 
Hari Bansha Acharya
 
तर, आचार्य फिल्मको कथा आफ्नो जीवनसँग नमिल्ने स्पष्ट पार्छन् । ‘फिल्मको ट्रेलर हेर्दा मेरै जीवनसँग मेल खाएको जस्तो देखिए पनि त्यस्तो होइन । उमेर ढल्केपछि विवाह गरेको भाग मात्र मिल्छ र मलाई दोस्रो विवाह गर्दा छोराछोरी सबैले साथ दिएका थिएँ । फिल्ममा असहयोग गरेको देखाइएको छ । फिल्ममा सन्तानले बुवा-आमालाई बुझ्नु पर्छ भन्ने देखाउन खोजेका छौँ,’ उनले भने ।
 
दोस्रो विवाहपछि आफू पुनः अभिनयमा फर्किन सकेको हरिवंश सम्झन्छन् । ‘श्रीमतीको साथले काममा फर्किन सकेको हुँ । विवाह गर्नै पर्ने थियो र समयमै गरेँ । नगरेको भए पछुताउने रहेछु,’ उनले अगाडि भने, ‘विवाह गरेपछि मेरो जीवन सहज भयो । मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ । अहिले जीवन अत्यन्त सजिलो भएको देखेर दोस्रो विवाह गरेकोमा पछुतो लाग्दैन ।’
 
फिल्मले उठान गर्न खोजेको विषय र त्यसलाई बुनिएको पटकथाले आफू प्रभावित भएको उनको कथन छ । उनले निर्देशक प्रदीप भट्टराईलाई सरल प्रस्तुतिमा कथा भन्न सक्ने निर्देशकको रुपमा तारिफ गर्दै अगाडि भनेका छन्, ‘प्रदीप भाईले कथा सुनाउँदा यो भन्नु पर्ने कथा हो भन्ने लाग्यो । फिल्मले नेपाली समाजको नै कथा भन्छ ।’ फिल्मको कथाले दर्शकलाई छुने आचार्यको विश्वास छ ।
 
निर्देशक भट्टराईकै लेखन रहेको फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ । यही फिल्मबाट अरुण क्षेत्री र अञ्जना बराईली डेब्यु गर्दैछन् ।