Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा’ हेरेपछि सुरक्षाले औंल्याइन् कमजोरी, भन्छिन्, ‘सम्पादन अझै टाइट हुनुपर्थ्यो’

फिल्मीखबर, काठमाडौं, 2022/10/23
Surakshya Panta
 
कमर्शियल र आर्ट दुवै खालका फिल्ममा सशक्त उपस्थिति जनाएकी भर्सटायल अभिनेत्री सुरक्षा पन्त अभिनीत नयाँ फिल्म ‘के घर के डेरा’ दीपावलीको अवसर पारेर शुक्रवारबाट प्रदर्शनरत छ । काठमाडौंमा घर हुने र डेरामा बस्नेहरुको समस्यामाथि आधारित भएर निर्माण भएको यो फिल्ममा सुरक्षाले डेरामा बसेर काठमाडौंमा घर किन्ने सपना बोकेको पात्रको रुपमा अभिनय गरेकी छन् । 
 
डबिङमा आफ्नो भागको सिन हेरेकी सुरक्षाले शुक्रवार अभिनेत्री वर्षा राउतको साथमा दर्शकसँगै बसेर पूरा फिल्म हेरिन् । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू दर्शक भएर हेर्दा फिल्म अत्यन्त रमाइलो बनेको प्रतिक्रिया दिइन् । दर्शकहरु पनि फिल्म हेर्दा रमाएको देख्दा खुसी लागेको उनी बताउँछिन् । उनले फिल्मको कमजोरी पक्ष पनि औंल्याएकी छन् ।
 
उनी भन्छिन्, ‘फिल्ममा इमोसन, कमेडी, ह्यूमर सबै कुरा छ । मलाई फिल्म हेरिरहँदा सम्पादन अलि टाइट भइदिए हुन्थ्यो जस्तो लागेको थियो । यसप्रकारको जनराको फिल्म हेरिरहेका कारणले पनि थोरै लामो भएको होकि भन्ने लागेको थियो । तर, दर्शकल त इन्जोय गरिरहनु भएको थियो ।’ पुरुष पात्रभन्दा वर्षा र आफूले कम स्क्रिन स्पेश पाएकोमा पनि सुरक्षाले असन्तुष्टि जनाएकी छन् । 
 
‘फिल्ममा हाम्रो स्क्रिन स्पेश धेरै छैन, जति पुरुष पात्रको छ । तर, सानै रोल भए पनि हामीले न्याय गरेका छौं जस्तो लाग्छ,’ उनले भनिन् । निर्देशक दीपेन्द्र के. खनालसँग यसअघि केही फिल्ममा काम गरिसकेकी सुरक्षाले ‘के घर के डेरा’लाई निर्देशक खनालले स्क्रिप्टभन्दा स्क्रिनमा अझ बढी मिठास् बनाएको बताएकी छन् । कमेडीमा इमोसन घोल्ने उनको शैलीको सुरक्षा प्रशंसा गर्छिन् ।