Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरूष’मा मह जोडीसँग काम गर्न डरलाई आत्मविश्वासमा बदलेका अरुण र अञ्जना

फिल्मीखबर, काठमाडौं, 2022/10/21
सफल निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरूष’ भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले दुई नयाँ अनुहार पाउँदैछ । उनीहरु हुन्, अरुण क्षेत्री र अञ्जना बराईली । फिल्ममा अरुणले कलाकार हरिवंश आचार्यको छोराको भूमिका निभाएका छन् भने अञ्जना कलाकार मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिकामा छिन् । 
 
बाल्यकालदेखि नै मह जोडीलाई सानो र ठूलो पर्दामा हेर्दै हुर्किएका उनीहरु सुरुमा काम गर्न डर लागेको भए पनि पछि डरलाई आत्मविश्वासमा बदलेको बताउँछन् । ‘मलाई डर नलागेको होइन । तर, त्यसलाई आत्मविश्वासमा बदलेँ । उहाँहरूको आशिर्वाद लिएर डेब्यू गर्न पाउँदाको खुसी व्यक्त गर्ने मसँग शब्द नै छैन,’ अरुणले भने । उनी फिल्ममा अडिसनमार्फत् छनोट भएका हुन् । 
 
Arun Kshetri
 
अभिनयमा जम्ने सपनाको भारी बोकेर जापानबाट नेपाल फर्किएका अरुणलाई निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने ठूलो सपना थियो । तर, भेट जुरेको थिएन । उनले प्रदीपसँगै निर्माता रविन्द्र सिंह बानियाँलाई सम्पर्क गर्न खोजे । उनी सम्झन्छन्, ‘त्यो समयमा उहाँहरूको ‘जात्रै जात्रा’ रिलिज हुँदै थियो । त्यसैले भेट भएन । अहिले उहाँहरुकै फिल्मबाट डेब्यू गर्ने अवसर पाएँ, खुसी छु ।’
 
त्यस्तै, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसनमार्फत् फिल्ममा छानिएकी हुन् । ‘मैले यसअघि केही फिल्मका लागि अडिसन दिएकी थिएँ । एक फिल्ममा छनोट पनि भएको थिएँ तर, त्यो बनेन । ‘महापुरूष’को अडिसन हुँदैछ भन्ने सुनेपछि म पनि सहभागी भएँ । मेरो भाग्य बलियो रहेछ भनौं, मह जोडीसँग काम गर्ने सौभाग्य पाएँ,’ उनी खुसी भावमा भन्छिन् ।
 
मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा आफूले धेरै कुरा सिक्न पाएको उनको भनाई छ । ‘म फिल्म क्षेत्रका लागि विल्कुलै नौलो मान्छे हुँ । मलाई रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग मार्गनिर्देशन गर्नुभयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो । अब म आफ्नो अभिनयको प्रतिक्रिया दर्शकबाट बुझ्न आतुर छु । मनमा डर र उत्साह दुवै छ,’ अञ्जनाले भनिन् ।
 
अरुण र अञ्जनाले अडिसनमा देखाएको अभिनयको आधारमा छनोट गरिएको फिल्मका कलाकार तथा कार्याकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए । ‘हामीलाई चाहिएको कलाकार उहाँहरुमा पायौँ । दुवैको प्रस्तुति राम्रो थियो र भूमिका सुहाउने भएपछि छनोट गर्‍यौं,’ उनले भने । अग्रज कलाकारसँग कन्फिडेन्टका साथ अभिनय गरेकाले उनीहरुको भविष्यमा राम्रो देख्छन् बानियाँ ।
 
anjana baraili
 
अडिसनबाट फिल्ममा छानिए पनि अरुण र अञ्जनालाई वर्कशपमा भने केही समस्या भएको थियो । फिल्मको क्यारेक्टरमा बाँच्न उनीहरूले समय लिएका थिए । तर, फिल्ममा उनीहरुको अभिनयमा समस्या नदेखिने निर्देशक भट्टराई बताउँछन् । ‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर नै अडिसनमार्फत् खोजेका हौँ । नयाँपुस्ताको कथा नयाँमार्फत् नै भन्न खोजेका छौँ’, उनले भने । 
 
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण भएको फिल्ममा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । ‘महापुरूष’मा प्रदीप भट्टराईको निर्देशन र लेखन छ ।