
अभिनेता द्वय सलोन बस्नेत र आमेश भण्डारीबीच केही गुण, सौख र स्वभाव मिल्छ । यसकारण पनि हुनसक्छ यी दुईबीच लामो समयदेखि मित्रता टिकेको छ । फिल्म ‘मेला’मा सँगै काम गरेका उनीहरु गायनका सौखिन हुन् । यी दुईले आफ्नो सौख पूरा गर्न ‘रुम नम्बर १०८’, ‘मेरो लागि तिमी’ जस्ता गीतहरु समेत गाइसकेका छन् । अब उनीहरुले पहिलो पटक कन्सर्ट गर्ने भएका छन् ।
तिहारको छेको पारेर कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा उनीहरु गुञ्जिन लागेका हुन् । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा सलोन र आमेशले गीत गाएर दर्शक झुमाउने छन् । बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको औपचारिक जानकारी गराइयो ।

कार्यक्रममा सलोन र आमेशसँगै एफटी लिक्कुइड ब्याण्डले पनि प्रस्तुती दिनेछ । सलोन र आमेशले तिहार हंगामामा दर्शकको राम्रो साथ मिल्ने विश्वास व्यक्त गरे । यतिबेला निरन्तर गायनको अभ्यास गरिरहेको बताउँदै उनीहरुले केही आफैंले गाएका र केही अन्य चर्चित गीत गाउने जानकारी दिए । कार्यक्रम आयोजक संजीव लामाले काग तिहारको राती ९ बजेबाट कन्सर्ट हुने बताए ।

