.jpg)
बडा दशैंको समयमा प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ तेस्रो हप्ताबाट नयाँ भर्सनमा हेर्न पाइने भएको छ । २ घन्टा ७ मिनेट लम्बाईको फिल्मलाई निर्माण पक्षले ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ । शुक्रवारबाट हलमा फिल्मको नयाँ भर्सन प्रदर्शन हुने निर्माता किरण नेपालीले जानकारी दिए । फिल्मको साउन्डमा समेत केही परिवर्तन गरिएको उनको भनाई छ ।
उनले भने, ‘हामीले शुक्रबारदेखि फिल्मलाई हलमा नयाँ भर्सनमा पठाउँदैछौं । फिल्मको समय केही घटाएका छौं । साउन्डमा पनि परिवर्तन गरेका छौं ।’ फिल्मको पहिलो र दोस्रो हप्ता गरेको कमाईबाट निर्माता नेपाली उत्साहित छन् । फिल्म नाफामा गइसकेको उनको दाबी छ । फिल्मको लाइफ टाइम कलेक्सनको आधारमा प्राविधिकलाई बोनस बाँड्ने तयारीमा समेत निर्माता नेपाली छन् ।
कात्तिक ७ गतेबाट तिहारको सार्वजनिक विदा रहेकाले त्यसबेला पनि फिल्मले राम्रो कमाई गर्ने विश्वास निर्माण टिमले लिएको छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यस फिल्मलाई दर्शकले भने उत्कृष्ट भनेका छन् । ‘कबड्डी ४’को सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । यो फिल्मबाट सबैभन्दा बढी प्रशंसा सौगातले कमाएका छन् ।
फिल्ममा दयाहाङ र सौगातसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ, पुकार गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, सुष्मा निरौला, कविता आले, प्रकाश घिमिरे, स्वर्गीय जयनन्द लामालगायतको अभिनय रहेको छ । नयाँ भर्सन हलमा लागेपछि दर्शकलाई फिल्म अझ धेरै मन पर्ने विश्वास निर्देशक लामाको छ । यसअघि उनी निर्देशित फिल्म ‘छ माया छपक्कै’ सुपरहिट भएको थियो ।

