Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रताले नभ्याउने भएपछि केकीलाई ‘प्रसाद २’को अफर

फिल्मीखबर, काठमाडौं, 2022/10/19
सबै कुरा सोचेअनुसार भइदिएको भए फिल्म ‘प्रसाद २’ प्रदर्शनमा पनि आइसकेको हुने थियो । तर, कहिले कोरोना महामारी त कहिले निर्देशक तथा कलाकार परिवर्तनको गन्जागोलले यो फिल्मको छायांकन समेत सुरु हुन सकेको छैन । स्क्रिप्टको काम सुरु हुँदा सौरभ चौधरीले निर्देशन र मुख्य भूमिकामा निश्चल बस्नेत रहने फाइनल भएको थियो । तर, फिल्मको काम अगाडि बढ्दै जाँदा दुवै फिल्ममा रहेनन् । 
 
फिल्मको घोषणा सभासम्म आइपुग्दा निर्देशकमा सुदर्शक थापा भित्रिए भने निश्चलको ठाउँ अर्पण थापा लिए । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ भने यथावत् थिए । त्यसपछि केही दिन वर्कसप गरेर फिल्मको टिम छायांकनका लागि कास्कीको एक गाउँमा पुगेको थियो । तर, छायांकन सुरु हुने समयमा विपिन र निर्माता सुभाष थापाबीच पारिश्रमिकको विषयमा लफडा उत्पन्न भएपछि छायांकन हुन सकेन र टिम काठमाडौं फिर्ता भयो । 
 
काठमाडौं फर्किएपछि विपिनले निर्माता र निर्देशक परिवर्तन नभएसम्म फिल्ममा कामै नगर्ने अडान लिएका थिए । तर, निर्माता थापाले चलचित्र निर्माता संघमा छायांकनको वातावरण मिलाइदिन भन्दै निवेदन दिएपछि संघले यसै साता कलाकार, निर्माता र निर्देशकलाई राखेर विवाद टुंग्यायो । संघले आगामी मंसिर पहिलो साताबाट छायांकन गर्ने गरी तीनैजनासँग लिखित सहमति गराएको छ । तर, विपिन फिल्म खेल्न राजी हुँदा निर्मातालाई अर्को तनाव आइपरेको छ । 
 
केकीलाई भ्याइनभ्याइ
 
फिल्मका लागि मुख्य भूमिकामा अनुबन्ध भएकी अभिनेत्री नम्रता श्रेष्ठले अब काम गर्न नभ्याउने भएकी छन् । आफ्नो अर्को फिल्म ‘ग्रहण’सँग सेड्युल जुघ्ने भएपछि उनले सहमतिमै ‘प्रसाद २’बाट हात झिकेकी छन् । पहिलो श्रृंखलामा उनी नै मुख्य भूमिकामा रहेकाले सिक्वेलमा पनि उनी नै दोहोरिनु पर्ने थियो । तर, उनले फिल्ममा काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजी गर्दै निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकी अधिकारीसम्म पुगेका छन् । 
 
केकीले आफूलाई ‘प्रसाद २’बाट अफर आएको स्वीकार गरेकी छन् । उनले फिल्मीखबरसँग भनिन्, ‘हो, मलाई फिल्मबाट अफर भएको छ । अहिले म स्क्रिप्ट अध्ययनकै चरणमा छु । समय र अरु कुरा मिलेको खण्डमा काम गर्न सक्छु । केही दिनमा यसबारेमा टुंगो लाग्न सक्छ ।’ उनले समय व्यस्तताले नम्रता श्रेष्ठले फिल्ममा काम गर्न नसकेका कारण आफूले गर्दा कुनै समस्या नहुने पनि बताएकी छन् । एउटा कलाकारले नभ्याउँदा अर्को कलाकारले काम गर्नु सामान्य कुरा रहेको उनको भनाई छ । 
 
‘प्रसाद’ जहाँ सकिएको थियो त्यहीँबाट ‘प्रसाद २’को कथा सुरु हुने बताइएको छ । यो हुँदा ‘प्रसाद’कै कलाकारहरु विपिन कार्की र नम्रता श्रेष्ठको विकल्प छैन । तर, निर्माण टिमले नम्रताको विकल्पको रुपमा अरु अभिनेत्रीको खोजी गरिरहँदा स्क्रिप्टमा परिवर्तन हुन्छ वा हुँदैन भन्ने चासो धेरैमा छ । यतिबेला विपिन बलिउड फिल्म ‘एनिमल’मा काम गर्न मुम्बईमा रहेकाले उनी नेपाल फर्किएपछि ‘प्रसाद २’को छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।