शुक्रवारबाट प्रदर्शनरत मल्टीस्टारर फिल्म ‘हिजो आजका कुरा’को नयाँ गीत रिलिज भएको छ । मंगलवार यूट्युबमा सार्वजनिक गरिएको ‘तिमी पहिले’ बोलको प्रेमिल भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको युगल स्वर र गायक हर्कुलसकै शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका कलाकार द्वय ऋचा शर्मा र दिव्य देव फिचर छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।
साकार पन्तले निर्देशन गरेको फिल्ममा नेपाली युवाको विदेश मोह र त्यसले परिवारसँगै सम्बन्धमा पार्ने प्रभावलाई देखाइएको छ । समीक्षकले खासै नरुचाएको यस फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । एक समयका चर्चित हास्य टेलिश्रृंखला ‘हिजो आजका कुरा’को शीर्षक सापटी लिएर फिल्म निर्माण भएको हो । तर, सिरियल जस्तो दर्शकको प्रिय बन्न भने फिल्म चुकेको छ ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा ऋचा र दिव्य देवसँगै सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, स्वं. निराजन प्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी, स्वं. रोहिणी भट्टराईलगायतको अभिनय छ ।
फिल्मको कथा कलाकार पन्तकै हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठ प्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । कलाकार पन्तले फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । त्यस्तै, ऋचाले आफ्नो अभिनयको प्रशंसा भएकोमा खुसी साटेकी छन् ।

