आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा मेलिना राई र रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा संगीत छ । चक्र पुलामी मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामीले नृत्य गरेका छन् ।
हालै बेलायतमा भएको फिल्मको स्पेशल शोमा सुखद् प्रतिक्रिया मिलेको थियो । निर्देशक भुपेन्द्रकै लेखन रहेको ‘कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतको अभिनय छ । फिल्ममा मदन घिमिरेको छायांकन, नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टीका पुन र तारा सिरिस मगरको गायन छ ।
मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ निर्माता रहेको फिल्मको सह-निर्मातामा नातीकाजी गुरुङ छन् । यो फिल्म मौलिक नेपाली कथावस्तुमा आधारित भएर निर्माण भएको निर्देशक गुरुङले जानकारी दिए । सोलुखुम्बुको जुबु र त्यस आसपासका रमणीय स्थानमा छायांकन भएको फिल्मले आफ्नै पिताको हत्यारासँगको बदला र जीवन संघर्षको कथा बोलेको छ ।

