अभिनेता सलोन बस्नेतले नेपाली फिल्ममा लगभग आफ्नो उमेर बराबरकै समय बेथित गरिसकेका छन् । बाल कलाकारको रुपमा करिअर सुरु गरेका उनी अहिले पनि अभिनयमा उतिक्कै सक्रिय छन् । अब भने उनी घरजम गर्न कस्सिएका छन् । एयर होस्टेज तथा मोडल करिश्मा केसीसँग झन्डै ३ वर्ष लामो प्रेम सम्बन्धलाई उनी मंसिर १२ गते विवाह बन्धनमा परिणत गर्ने तयारीमा छन् ।
रोचक संयोग के जुरेको छ भने सलोन अभिनीत फिल्म ‘मिलन’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ भने त्यसको एक महिनामा उनको करिश्मासँग मिलन हुँदैछ । यसले गर्दा उनी यस वर्ष आफ्नो लागि विशेष रहेको बताउँछन् । फिल्मको नाम जस्तै वास्तविक जीवनमा हुन लागेको मिलनले आफू उत्साहित रहेको उनको भनाई छ । फिल्म प्रदर्शनपछि सलोन बिहेको तयारीमा जुट्ने छन् ।
सोमवार ‘मिलन’को ट्रेलर रिलिज कार्यक्रममा उनले विवाहपछि फ्यान फलोइङ नघट्ने तर्क पेश गरे । सलोनले भने, ‘विवाहपछि फ्यान फलोइङ घट्छ भन्ने लाग्दैन । व्यक्तिगत र व्यवसायिक जीवन एकदमै फरक हुन्छ । ‘मिलन’ आफैंमा राम्रो फिल्म बनेकाले यो फिल्मले अझ फ्यान फलोइङ बढाउँछ भन्ने लागेको छ ।’ अहिलेसम्म विवाह कसरी गर्ने भन्ने तय नभइसकेको सलोनले बताए ।
उनले पिता शोभित बस्नेतलाई तत्काल हजुरबुबा नबनाउने भन्दै ठट्टा पनि गरे । शोभितले पनि अहिले आफूलाई हजुरबुबा बनाउन सलोनलाई नदिने बताए । उनले भने, ‘अहिलेसम्म बिहे गरोस् भनेर ठेल्दा ठेल्दै यहाँसम्म ल्याएँ । हजुरबुबा पनि कहाँ चाँडै बन्छु र ! त्यो पनि ठेल्दै लान्छु नि । मेरो मार्केट डाउन गराउनु छैन नि ।’ विवाह समारोह मंसिर १० देखि १५ सम्म हुने उनको भनाई छ ।

