Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सञ्चार सचिवदेखि पूर्व प्रधानसेनापतिसम्मले ‘नालापानी’ हेरेपछि भने- ‘उत्कष्ट फिल्म’

फिल्मीखबर, काठमाडौं, 2022/10/17
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजले देखाएको बहादुरीको कथामा निर्माण भएको फिल्म ‘नालापानी’ नेपाल सरकारका विशिष्ट व्यक्तिहरुले हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । आइतवार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय चलचित्र जाँच पास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले फिल्म हेरेका हुन् ।
 
Nalapani
 
चलचित्र विकास बोर्डको हलमा भएको विशेष शोमा झन्डै ८० जना विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि सचिव अर्यालले परम्परागत मसलेदार फिल्महरु बनिरहेको समयमा ऐतिहासिक विषयवस्तुमा आधारित रहेर यथार्थपरक फिल्म बनाएकोमा निर्माता तथा निर्देशक रिमेश अधिकारी र टीमलाई बधाई दिँदै नेपालको इतिहासबारे प्रष्ट हुन हरेक नेपालीले यो फिल्म हेर्नुपर्ने बताए । 
 
उनले भने, ‘नेपाल यत्तिकै बनेको हो कि क्या हो भन्ने सोच्छौँ । हाम्रा पुर्खाले कसरी त्याग, बलिदान गरेका रहेछन् भन्ने यथार्थ चित्रण छ । हाम्रो नेपाल निर्माण हुँदा के कस्तो दु:ख र समस्याहरुबाट गुज्रेका थियौँ भनेर जान्नको लागि पनि ‘नालापानी’ हेर्न जरुरी छ ।’ निर्माणको क्रममा नेपाली सेनाले गरेको सहयोग पनि राज्यको नै सहयोग रहेको बताउँदै अर्यालले सञ्चार मन्त्रालयले यो फिल्मलाई कर छुटको लागि सम्बन्धित निकायमा पत्राचार समेत गरेको बताए । 
 
पूर्व प्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको बताए । उनले भने, ‘नेपाललाई स्वाधिन राख्न हाम्रा वीर र वीरंगानाहरुले त्यो समयमा दिएको बलिदानको जीवन्त चित्रण फिल्मले गरेको छ । फिल्ममा देखाइएको महिला र बालबालिकाले समेत युद्द लडेको यथार्थ हो । अहिले इतिहासलाई अवमुल्यन गरिराखेको अवस्थामा यो फिल्मको माध्यमबाट नेपाल र नेपाली जनताले फेरि एकपटक हामी स्वाभिमान छौं भन्ने अवसर दिएको छ ।’ क्षेत्रीले आफू प्रधानसेनापति रहेकै समयमा यो फिल्म बनेको र त्यसमा नेपाली सेनाले पूर्ण सहयोग गरेको जिकिर गरे ।
 
पूर्वसचिव उपाध्यायले अहिले सस्तो रुपमा बुझ्ने गरेको नेपालको स्वाभिमान हाम्रो पुर्खाको रगतले जोगिएको हो भन्ने कुरा यो फिल्मले सम्झाउने बताए । ‘फिल्ममा समावेश शत्रुले पनि प्रशंसा गरेको कुराले मन छोयो । सबै नेपालीले एकपटक हेर्नैपर्छ । यो फिल्म धेरै अनुसन्धान गरेर बनाइएको छ । पुस्तकमा पढ्दा यतिधेरै विस्तारमा पढिएको थिएन । यो फिल्म बनाउने आँट देखेर म दंग छु’, उपाध्यालले भने ।
 
केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न कसरी सकिन्छ भन्ने कुराको शिक्षा यो फिल्मले दिएको भन्दै प्रशंसा गरे । नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थले सरकारले बनाउनुपर्ने फिल्म व्यक्तिले बनाएको सन्दर्भमा सरकारले ट्याक्स फ्रि गर्नुपर्ने बताए । त्यस्तै, स्टक मार्केटका लगानीकर्ता छोटेलाल रौनियारले राज्यले प्रोत्साहनस्वरुप यो फिल्मलाई कर छुट दिइनुपर्ने धारणा राखे । 
 
Nalapani
 
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । फिल्मका एशोसियट निर्माता सपन कुमार थापा, सह निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।
 
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।