फिल्म ‘रेसम फिलिली’मा हरियाको भूमिकामार्फत चर्चामा आएका कलाकार कामेश्वर चौरासिया केही वर्ष अगाडिसम्म सर्वाधिक डिमान्डमा थिए । मधेशी चरित्रमा उनलाई दर्शक खुबै रुचाए । तर, आफू डिमान्डमा रहेको समयमा ‘लिड क्यारेक्टर’को खोजी गर्दा उनी एकाएक कामविहीन हुन पुगे । महिनौंदेखि काम नहुँदा उनलाई काठमाडौंमा हातमुख जोर्न नै मुश्किल परेको थियो ।
फिल्ममा व्यस्तता घटेपछि उनले काठमाडौंको तिनकुनेबाट शंखमुलतिर जाने बागमती करिडोरमा माछा तारेर बेच्न थालेका थिए । यतिबेला भने उनी इटहरीमा बस्दै आएका छन् । पछिल्लो पटक फिल्म ‘साङ्लो’मा देखिएका कामेश्वरलाई लकडाउनपछि भने फिल्ममा काम गर्न मेकरहरुबाट बाक्लै फोन आउने गरेको छ । र, आजभोली उनलाई लाग्न थालेको छ, ‘बल्ल मेरो पालो आयो ।’

इटहरीमा बसेर यतिबेला उनी पूर्वाञ्चल इन्स्टिच्यूट अफ फिल्म एन्ड टेलिभिजनसँगको सहकार्यमा ‘भूपति’ नामक फिल्मको निर्माण गर्दैछन् । उनले आफ्नो नाममा दर्ता गरेको निर्माण कम्पनी कामेश्वर चौरासिया फिल्मस् फिल्मको प्रस्तुतकर्तामा छ । पूर्वाञ्चल इन्स्टिच्यूट अफ फिल्म एन्ड टेलिभिजनका रोनिस राउतले निर्देशन गर्ने यस फिल्मको मुख्य भूमिकामा कामेश्वर स्वयं देखिँदैछन् ।
तिहारपछि छायांकनमा निस्कन लागेको फिल्मको अधिकांश छायांकन प्रदेश नं. १ मा हुनेछ । समसामयिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मका लागि निर्माण टिमले कलाकार छनोट गर्न अडिसन आह्वान गरेको छ । कात्तिक १ गते पूर्वाञ्चल इन्स्टिच्यूट अफ फिल्म एन्ड टेलिभिजनमा अडिसन हुँदैछ । यो फिल्ममा पनि आफू मधेशी चरित्रमै देखिन लागेको कामेश्वरले बताएका छन् ।
‘म मधेशी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पनि मलाई मधेशी चरित्रमा बढी रोजिएको हुनुपर्छ र म अरु के नै देखिन सक्छु भन्ने कुरा पनि हो । मलाई मधेशी चरित्र सुहाउँछ पनि र मैले त्यसलाई राम्रैसँग न्याय गर्न सक्छु जस्तो लाग्छ,’ उनी भन्छन् । कोरोना महामारीको अन्त्यपछि फिल्म इन्डस्ट्री विस्तारै जुरमुराउन थालेको र आफ्नो पनि विस्तारै पालो आउन लागेको उनी बताउँछन् ।
कोभिडपछि आफूलाई केही फिल्मबाट अफर आएको उनको भनाई छ । ‘फिल्ममा काम गर्न भनेर केही प्रस्तावहरु आएका थिए । तर, कोभिडपछि फेरिएको सिनारियोमा अब कस्तो फिल्म गर्ने भन्ने सोचिरहेको थिएँ । यसैक्रममा, ‘भूपति’बाट अफर आयो र चरित्र मन परेपछि काम गर्न राजी भएँ,’ कामेश्वरले भने, ‘अहिले म ‘भूपति’मै समर्पित छु । यसपछि अरु फिल्ममा काम गर्ने सोचमा छु ।’

