
नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै सिरिज निर्माण हुने एक मात्र फिल्म हो, ‘नाईँ नभन्नू ल’ । यसका पाँचवटा श्रृंखला निर्माण भएर प्रदर्शन भइसकेका छन् भने अब छैटौं सिरिज निर्माणको तयारीमा छ । यसका पाँचवटै श्रृंखलाले बक्सअफिसमा सफलता हासिल गरेका थिए । मनछुने बाल प्रेमकथा र सुमधुर गीतसंगीतका कारण यो फिल्मका हरेक सिरिज दर्शकको प्रिय बनेका छन् ।
‘नाईँ नभन्नू ल’ सिरिज कलाकार अनुभव रेग्मीका कारण पनि चर्चित छ । उनी दोस्रो श्रृंखलादेखि टुटेका छैनन् । तर, अहिले उनी हर्लक्क बढेका छन् । न अब उनलाई बाल कलाकार भएर अभिनय गर्न सुहाउँछ न हिरो हुनलाई उमेर पुगेको छ । त्यसैले ‘नाईँ नभन्नू ल ६’मा उनलाई नलिने सोचमा निर्देशक विकासराज आचार्य थिए । तर, छैटौं सिरिजमा पनि अनुभव नछुट्ने भएका छन् ।
यद्यपि, फिल्ममा उनको अघिल्ला श्रृंखला झैं मुख्य भूमिका रहने छैन । फिल्मका लेखक सामिप्यराज तिमल्सिनाका अनुसार, ‘नाईँ नभन्नू ल ६’मा अनुभवको केमियो भूमिका मात्र रहनेछ । बिहीवारबाट छायांकन सुरु हुन लागेको फिल्ममा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ । त्यस्तै, यस फिल्ममा योगिशा खत्रीसहित थुप्रै बाल कलाकार रहनेछन् ।
निर्देशक आचार्यसँग मिलेर सामिप्यराजले फिल्मको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने ‘नाईँ नभन्नू ल ६’का ९ वटा गीतमा बसन्त सापकोटा, भुपेन्द्र रायमाझीलगायतको संगीत रहनेछ । स्रोतका अनुसार, कात्तिक महिनामा छायांकन पूरा गरेर आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षमा फिल्मलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।

