
हलिउड अभिनेता क्रिश्चियन बेलले आफ्नो करिअरको दौरानमा कयौं दमदार भूमिका निर्वाह गरेका छन् । सन् २००० मा आएको फिल्म ‘अमेरिकन साइको’मा उनले उत्कृष्ट काम गरेका थिए र यसलाई हलिउडको एक सानदार क्लासिक फिल्म भनिन्छ । तर, यो फिल्म रिलिजको वर्षौंपछि उनले ‘अमेरिकन साइको’मा आफूले मेकअप आर्टिस्टभन्दा कम पैसा पाएको खुलासा गरेका छन् ।
क्रिश्चियनले जीक्यू म्याथजीनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘फिल्ममा काम गरेबापत मैले जति पैसा पाउनु पर्ने थियो, त्यसमध्ये अत्यन्त कम पैसा मलाई दिइएको थियो । म मेरो पारिश्रमिक देखेर निराशा भएको थिएँ । किनकि, फिल्ममा मैले इमान्दारिताका साथ काम गरेको थिएँ । मलाई पछि मात्र थाहा भयो कि मेरा सबै मेकअप आर्टिस्टको भन्दा पनि कम पैसा मैले पाएको रहेछु ।’
आफूले पाउनु पर्ने पारिश्रमिकभन्दा कम पैसा पाएको भए पनि आफूले केही नबोलेको उनको भनाई छ । ‘त्यसबेला मसँग एउटा घर थियो, जुन पिता र बहिनीसँग शेयर गरेर बसेको थिएँ । त्यो घर पनि ऋणमा थियो । त्यसैले मलाई पैसाको आवश्यकता थियो । एक दिन मेकअप आर्टिस्टहरु मलाई देखेर हाँसिरहेका थिए । किनकि, मैले उनीहरुभन्दा कम पैसा पाएको थिएँ,’ उनले सम्झिए ।
आखिर उनले किन कम पैसा पाएका थिए त ? यसबारेमा उनले भनेका छन्, ‘यो फिल्ममा म भएकोमा धेरैलाई मन परेको थिएन । निर्देशकका अलावा कोही चाहिँदैन थिए कि यो फिल्ममा मैले काम गरुँ । त्यसैले मलाई कम पैसा दिइएको थियो । तर पनि मैले आफ्नो कामबाट दर्शकको मन जित्न सफल भएँ ।’ ‘अमेरिकन साइको’मा क्रिश्चियनले प्याट्रिक बेटम्यानको चरित्र निभाएका थिए ।

