नेपाली फिल्म सधैं विदेशी फिल्मको चेपटामा पर्दै आएको छ । अघिल्लो दिनसम्म नेपाल आउने/नआउने टुंगो नभएका विदेशी फिल्म रातारात सेन्सर भएर हलमा लाग्ने गरेका कारण पनि नेपाली फिल्म हल र शो बाँडफाँडमा मारमा पर्ने गरेको छ । विदेशी फिल्म सहज रुपमा सेन्सर हुने भएकाले पनि यो अवस्थाको अन्त्य नभएको हो । तर, अब नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले सेन्सर स्वीकृति लिनुपर्ने नियममा कडाई गरेको छ ।
केही हप्ता अघि बोर्ड अध्यक्ष भुवन केसी, सञ्चार मन्त्रालयका सह-सचिव तथा बोर्ड सदस्यहरुको बैठकले कार्तिक १ गतेबाट लागू हुने गरी नेपाली र विदेशी फिल्म प्रदर्शनको एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय गरेर कान्तिपुर दैनिकमा सुचना प्रकाशित गरेको थियो । बोर्डको यो निर्णयलाई अधिकांश फिल्मकर्मीले स्वागत गरेका छन् । तर, केही विदेशी फिल्मका नेपाली वितरक र हल सञ्चालकहरु भने बोर्डको यो निर्णय अक्षरस्त मान्न तयार छैनन् ।
बोर्ड अध्यक्ष भुवन केसी एक हप्ता अगाडि सेन्सर स्वीकृति लिँदा आगामी दिनमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न सकिने बताउँछन् । केसी भन्छन्, ‘अहिले कस्तो अवस्था छ भने फिल्म हलमा चलिसक्यो, दर्शकले टिकट पनि किनिसके तर सेन्सर चाहिँ भएको छैन । सेन्सर नै नभइ फिल्म प्रदर्शन हुँदा राष्ट्रलाई अघात पुग्ने, चेटीबेटीको अस्मितामा आँच पुग्ने, धर्म-संस्कृतिमा दख्खल पर्ने खालको दृश्य भए ठूलो दुर्घटना हुन सक्छ भन्ने कुरालाई मध्यनजर गरेर यो निर्णय भएको हो ।’
.jpg)
सेन्सर विना अग्रिम टिकट बुकिङ खोल्दा वा प्रदर्शन गर्दा फिल्मको कुनै आपत्तिजनक दृश्य सेन्सर बोर्डले रोक्नु पर्यो भने हलमा ठूलो दुर्घटना हुन सक्ने उनको तर्क छ । सेन्सर नभइ फिल्म प्रदर्शन हुँदा कुनै आपत्तिजनक दृश्यमा दर्शक आक्रोशित भएर अकल्पनीय घटना समेत हुन सक्ने उनले बताए । बोर्ड फिल्म क्षेत्रको हकहितका लागि बनेकाले यो निर्णय कसैलाई चेप्नका लागि नभएको पनि उनले स्पष्ट पारे ।
अध्यक्ष केसीले अगाडि भने, ‘हाम्रा देशका फिल्म विदेशमा एक/दुई महिना अगाडि सेन्सर गर्नुपर्छ । सेन्सरको झन्झटले नै हाम्रा फिल्म विदेशमा नियमित रुपमा हलमा प्रदर्शन हुन सकेका छैनन् । फिल्मको सेन्सर गर्न संसारकै सबैभन्दा सहज देश नै नेपाल बनेको छ । त्यति छुट हुँदा हुँदै पनि कुनै व्यापारीले एक हप्ता अगाडि फिल्म किन्दा महंगो पर्छ, घाटा हुन्छ, एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय मान्दैनौं भन्छ भने एउटा व्यापारीलाई फाइदा गर्न बोर्ड बनेको होइन । यो निर्णय कुनै व्यापारीलाई लक्षित गरेर नभइ देश र जनताको हितका लागि गरिएको हो ।’
बोर्डले फिल्म प्रदर्शनको एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय गरेपछि केही प्रदर्शक र विदेशी फिल्मका वितरकहरु असन्तुष्ट छन् । तर, फिल्म क्षेत्रलाई व्यवस्थित गर्न खोज्दा विरोध र आन्दोलन हुन्छ भने सम्पूर्ण फिल्मकर्मी र तीन करोड नेपालीले बोर्डलाई साथ दिने अध्यक्ष केसी बताउँछन् । प्रदर्शनको एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णयले केही हदसम विदेशी फिल्मको चपेटाबाट नेपाली फिल्मलाई राहत पनि मिल्ने उनको विश्वास छ ।

