
अभिनेत्री स्वस्तिमा खड्काको बलिउडका नामी कलाकार सौरभ शुक्लासँग भारतको चण्डीगढमा भेटघाट भएको छ । चण्डीगढमा जारी इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको क्रममा उनीहरुबीच भेट भएको हो । स्वस्तिमाले कलाकार शुक्लासँग भेटको तस्विरहरु इन्स्टाग्राममा पोस्ट्याउँदै नेपाल र भारतीय फिल्म उद्योगको सम्बन्धको बारेमा कुराकानी भएको उल्लेख गरेकी छन् ।
स्वस्तिमाले क्याप्सनमा लेखेकी छन्, ‘उहाँ (सौरभ शुक्ला) ले नेपाली फिल्म उद्योगको बारेमा जान्न देखाउनुभएको चासो र आफ्नो कामको अनुभव आदान प्रदान गरेको देख्नु साँचिक्कै रोचक थियो ।’ अभिनेत्री खड्काले इन्स्टाग्राममा साझेदार गरेका दुईवटा तस्विरमा उनले सौरभ शुक्लाको कुरा चाखपूर्वक सुनेको देखिन्छ भने सौरभले पनि स्वस्तिमाको कुरा गम्भीरतापूर्वक सुनेका छन् ।
कयैन् बलिउड फिल्ममा सौरभ शुक्लाले चरित्र अभिनेताको रुपमा उम्दा अभिनय गरेका छन् । उनलाई बलिउडमा ‘अभिनयको विश्वविद्यालय’ भन्ने गरिन्छ । उनले ‘जोली एलएलबी’, ‘पिके’, ‘सत्य’, ‘पागलपन्ती’, ‘किक’, ‘गुन्डे’, ‘बाला’, ‘ओ माइ गड’ लगायतका सयभन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका छन् । सौरभले ‘जोली एलएलबी २’बाट राष्ट्रिय फिल्म अवार्ड समेत पाएका थिए ।
त्यस्तै, कमर्शियल र आर्ट दुवै खालका फिल्ममा आफ्नो सशक्त उपस्थिति जनाइसकेकी स्वस्तिमा खड्का पछिल्लो पटक फिल्म ‘चिसो मान्छे’मा देखिएकी थिइन् । यतिबेला उनी आफ्नै लगानीमा फिल्म निर्माणको तयारीमा छिन् । फिल्म ‘बुलबुल’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जित्न सफल भएकी उनले एकपछि अर्को फिल्मबाट आफूलाई अभिनयमा प्रमाणित गरिरहेकी छन् ।

