भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘महापुरुष’ले यतिबेला प्रचार-प्रसारलाई आक्रामक बनाउन मोफसलका दर्शकसँग प्रत्यक्ष रुपमा भेटघाट गरिरहेको छ । सांगीतिक कार्यक्रमको माध्यमबाट फिल्मको बारेमा जानकारी दिँदै आएको निर्माण टिम पूर्वाञ्चलमा प्रचार अभियान सकाएर पश्चिमका दुई ठूला शहर हेटौंडा हुँदै चितवन पुगेको छ ।
चितवनमा पत्रकारसँग भेट गर्दै फिल्मका कलाकार तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले ‘महापुरुष’को कथाको जन्मको रहस्य खोले । उनले फिल्मको कथाको जन्म तीर्थस्थल देवघाटबाट भएको बताएका छन् । बानियाँले भने, ‘देवघाटका एक ‘बा’को कथाबाट प्रभावित भएर ‘महापुरुष’को कथा जन्मिएको हो । देवघाटका एक एकल ‘बा’को सत्य घटनाबाट फिल्म प्रभावित छ ।
आमाको कथामा धेरै फिल्म बनेको भए पनि ‘महापुरुष’ एउटा एकल बुबाको कथामा आधारित रहेको उनले बताए । फिल्ममा उठान गरिएको कथावस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनको कथन छ । राम्रो विषयवस्तुमा फिल्म बनाए चल्छ भन्ने उदाहरण ‘महापुरुष’ले दिनेमा पनि रविन्द्र विश्वस्त देखिए । उनले फिल्ममा आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने पनि बताए ।
लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहेर पनि सन्तानले समय नदिँदा बुबा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा फिल्मबाट देखाउन खोजिएको बताए । कलाकार हरिवंश आचार्यले ‘बलिदान’पछि ‘महापुरुष’मार्फत् गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । फिल्मले हँसाउँदा हँसाउँदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने उनले बताए ।
म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्ममा हरिवंश र रविन्द्रसँगै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । दीपक बज्राचार्यले फिल्म खिचेका हुन् ।

