
मार्ना जेम्स र यश सैनीद्वारा निर्देशित मल्टीस्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को गुपचुप रुपमा छायांकन सकिएको छ । छायांकन पूरा भएपछि शुक्रवार निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गरेको छ । हरर-थ्रिलर कथामा निर्माण भएको यस फिल्मलाई आगामी पुष महिनामा प्रदर्शन गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले जानकारी दिए ।
एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ । यो फिल्मले नेपालमा हरर-थ्रिलर जनरामा एउटा ट्रेण्ड स्थापित गर्ने निर्माता चक्रावर्तीले विश्वास व्यक्त गरे । यतिबेला फिल्मको पोस्ट प्रोडक्सनका काम भइरहेको उनको भनाई छ ।
नेपाली, बलिउड र हलिउडका प्राविधिकहरुको समिश्रणमा फिल्म निर्माण भएकाले केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले लगानी गरेका छन् । यो फिल्ममा प्रियंका र आयुष्मानले विवाह बन्धनमा बाँधिएपछि पहिलो पटक एकसाथ काम गरेका हुन् । दुवै फिल्मलाई लिएर उत्साहित छन् ।

