Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सिरियल जस्तै सफल होला ‘हिजो आजका कुरा’ ?

फिल्मीखबर, काठमाडौं, 2022/10/14
करीब १८ वर्षसम्म टेलिभिजन स्क्रिनमा प्रशारण भएको हाँस्य टेलिसिरियल हो, ‘हिजो आजका कुरा’ । यो सिरियल हेरेर एउटा सिंगो पुस्ता हुर्किएको छ । यो सिरियल हेर्दाका धेरै नेपालीसँग बेग्ला बेग्लै र रोचक किस्सा छन् । त्यसबेला घर-घरमा टेलिभिजनको सुविधा थिएन । गाउँभरीमा एउटा टेलिभिजन हुन्थ्यो अनि उक्त सिरियल हेर्न गाउँ नै उर्लिन्थ्यो । शहरमा पनि यही अवस्था थियो । 
 
नेपाली टेलिसिरियलको इतिहासमा सर्वाधिक चर्चित र लामो समयसम्म प्रशारण भएको सिरियल नै ‘हिजो आजका कुरा’ हो । यही सिरियलको सन्तानका रुपमा पछि ‘जिरे खुर्सानी’, ‘तीतो सत्य’, ‘मेरी बाँस्सै’ जस्ता सिरियलको जन्म भयो । विस्तारै अन्य सिरियल चर्चित हुन थालेपछि ‘हिजो आजका कुरा’ बन्द भयो । तर, यो सिरियलसँग जोडिएका सम्झना धेरै नेपालीसँग अझै पनि ताजा छ ।
 
HijoAjaKaKura
 
यही ब्रान्ड नाममाथि निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ शुक्रवारबाट प्रदर्शनमा उत्रिएको छ । सिरियलकै मुख्य कलाकार द्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको यो फिल्मले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ । 
 
‘माया जदौ’ गीतका कारण प्रदर्शन अगावै चर्चामा रहेको फिल्मले ठूलो संख्यामा सिंगल थिएटर पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । प्रायः हरेक नेपालीले भोगिरहेको वास्तविक कथामा निर्माण भएका कारण फिल्मले परिवारिक दर्शक तान्ने अपेक्षा गरिएको छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा फिल्म सफलताको बाटोमा लम्किने छ ।
 
साकार पन्त निर्देशित फिल्ममा सन्तोष र रमासँगै, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह-निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।