ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’लाई कर छुट दिन चलचित्र विकास बोर्डले पहल सुरु गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले यो फिल्मलाई कर छुट दिन पहल सुरु भएको जानकारी दिए । बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँग फिल्मलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन आफूले आग्रह गरेपछि सचिवले अर्थ मन्त्रालयमा पत्राचार गरेको केसीले बताए ।
बोर्ड अध्यक्ष केसीले भने- ‘नेपालको गौरवगाथा बोकेको ‘नालापानी’ नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले बिशेष फिल्म घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकोले कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर सिनेमा हलमा देखाइने विज्ञापनलगायतका कुरामा पनि मैले सहजीकरणका लागि सकेको पहल गरिरहेको छु ।’

अध्यक्ष केसीले यस प्रकारका राष्ट्रिय गौरव बोकेका फिल्महरुलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्य आफूले सँधै राख्ने बताए । बोर्डले ‘नालापानी’लाई दिन सकिने सबै सुविधा दिने पनि उनले प्रतिवद्धता जनाए । फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले ऐतिहासिक विषयवस्तुमाथि बनेको फिल्मलाई कर छुटको सुविधा दिन खोजेकोमा खुशी व्यक्त गरेका छन् ।
रिमेशले भने- ‘सञ्चार सचिव, उपसचिव, सहसचिव र बोर्ड अध्यक्षसहितको बैठकमा ‘नालापानी’लाई सुविधा प्रदान गर्ने बिषयमा छलफल भयो । सचिवज्यूले विज्ञापनको लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्दता जनाउँदै स्थानियसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्नुभयो । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुशी छु ।’
कार्तिक ४ गते रिलिज हुन लागेको यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो । फिल्ममा वीर योद्धा कुँवर र ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरालाई जीवन्त रुपमा देखाइएको छ ।

