यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा फिल्म ‘हिजो आजका कुरा’ले प्रिमियरमा सुखद् प्रतिक्रिया पाएको छ । बुधवार साँझ काठमाडौंको एक हलमा आयोजित प्रिमियर शोमा उपस्थित भएका फिल्मकर्मीहरुले कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसामा शब्द खर्चिए । केही अतिथीले फिल्म हेरिरहँदा बाल्यकालमा ‘हिजो आजका कुरा’ सिरियल हेर्दाको दिन पनि सम्झिए ।
.jpg)
कलाकार तथा निर्माता किरण केसीले फिल्मको कथावस्तु एकदमै सशक्त रहेको प्रतिक्रिया दिए । उनले भने- ‘फिल्मको कथावस्तु एकदमै सशक्त लाग्यो । विदेशमा बसेका छोरा-बुहारी र नेपालमा बस्ने आमा-बुबाको कथालाई फिल्ममा अत्यन्त राम्रो तरिकाले प्रस्तुत गरिएको छ । हरेक एक कलाकारले सुन्दर अभिनय गरेका छन् । मध्यान्तरपछि ऋचा शर्माको अभिनयले मलाई छोयो ।’
अर्का कलाकार दीपकराज गिरीले ‘हिजो आजका कुरा’ सिरियलको न्यास्रो फिल्मले मेटाउने बताए । ‘जस-जसले ‘हिजो आजका कुरा’ सिरियल मिस गरिरहनुभएको थियो अब हलमा आएर हेर्दा हुन्छ । सिरियलको जुन फ्लेवर थियो, फिल्ममा पनि त्यो छ,’ उनले भने । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म राम्रो बनेको बताउँदै फिल्म हेर्दा दर्शकहरुले आनन्द महसुस गर्ने बताइन् ।
हाँस्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले फिल्म राम्रो बनेको बताए । उनले कलाकारको अभिनयको पनि प्रशंसा गरे । सिरियलमा जस्तै फिल्ममा पनि समसामयिक कुरालाई प्राथमिकता दिइएको उनको भनाई थियो । फिल्म हेर्दा ‘हिजो आजका कुरा’ सिरियल अरुको घरमा गएर हेरेको दिन याद आएको बताउँदै केदारले फिल्मले ५१ दिन मनाउन सफल हुने विश्वास व्यक्त गरे ।
कलाकार विल्सन विक्रम राईले फिल्मले आफूलाई बाल्यकालमा फर्काएको बताए । हिजो, आज र भोलीका कुरालाई मिसाएर सन्देशसहितको मीठो फिल्म बनेको उनी बताउँछन् । विल्सनले भने- ‘फिल्ममा हरेक नेपालीको घर-घरको कथा छ । निर्देशकले मीठो तरिकाले पस्किनुभएको छ । ऋचा शर्माको अभिनय उत्कृष्ट छ । अन्य कलाकारहरुको अभिनय पनि अत्यन्त राम्रो लाग्यो ।’
विवाहपछि पहिलोपल्ट श्रीमती ऋचा शर्माको फिल्म हेर्न प्रिमियरमा पुगेका दिपेक्ष राणाले पनि फिल्मको प्रशंसा गरे । उनले फिल्म पारिवारिक कथामा निर्माण भएको र परिवारले रिलेट गर्ने बताए । परदेशमा रहेकाहरुलाई फिल्मले सन्देश दिने पनि उनको भनाई थियो । उनले श्रीमतीको तारिफमा भने, ‘ऋचाको क्यारेक्टर र अभिनय एकदमै राम्रो । फिल्ममा उसको उमेरअनुसारकै रोल छ ।’
फिल्ममा अतिथी भूमिकामा रहेकी अभिनेत्री केकी अधिकारीले ‘हिजो आजका कुरा’ सिरियल हेरेर आफू हुर्किएकाले यो नामको फिल्ममा सानो भूमिकामा काम गर्न पाउँदा पनि अत्यन्त खुसी लागेको बताइन् । ‘हिजो आजका कुरा’ परिवारले हेर्नुपर्ने फिल्म बनेको उनले बताएकी छन् । सिरियल हेरेका हरेक नेपालीलाई फिल्मले काल्यकालमा फर्काउने अभिनेत्री अधिकारी बताउँछिन् ।
त्यस्तै, अभिनेत्री ऋचा शर्माले फिल्म हेर्दा निराश नहुने दाबी गरिन् । ‘हामीले परिवारसँग बसेर हेर्न मिल्ने फिल्म बनाएका छौं । यदि तपाईंहरुसँग ‘हिजो आजका कुरा’ सिरियलका कुनै सम्झना छ भने परिवारसहित फिल्म हेर्न आउनुहोला । २ घन्टा मज्जाले वित्ने छ । ‘हिजो आजका कुरा’को लिगेसीलाई साथ दिने दर्शकहरु त अवश्य हलमा आउनुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भनिन् ।
साकार पन्त निर्देशित फिल्ममा ऋचा र केकीसँगै सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, दिब्यदेव, जयनन्द लामा, रोहिणी भट्टराई, निरन्जनप्रसाद अर्याल, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्यलगायतको अभिनय छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई रवि सायमीले खिचेका हुन् ।

