Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

मीन भामको ‘चिसो वर्ष’मा सोनम छनोट

फिल्मीखबर, काठमाडौं, 2022/10/12
Sonam Topden And Min Bham
 
फिल्म ‘कालो पोथी’ फेम्ड निर्देशक मीन भामले करीब ५ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘चिसो वर्ष’मा अभिनेता सोनम तोप्देन छनोट भएका छन् । दुई चरणको अडिसनपछि उनलाई निर्देशक भामले चयन गरेका हुन् । दुई वर्षअघि भएको पहिलो चरणको अडिसनमा पहिलो नम्बरमा छानिएका सोनम दशैंअघि भएको फाइनल अडिसनमा फिल्मका लागि चुनिएको हो ।
 
फिल्ममा छनोट भएपछि सोनमले निर्देशक भामको हातबाट दशैंको टीका समेत थापेका थिए । उनले ‘चिसो वर्ष’मा छानिएकोमा खुसी व्यक्त गरेका छन् । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको रुपमा डेब्यू गरेका उनका लागि भामसँगको सहकार्य सिकाईको एउटा पाठशाला हुनेछ । किनकि, भामबाट उनले औसत अभिनयको भरमा छुट पाउने छैनन् ।
 
तिब्बतीयन नागरिक तोप्देन गायकको रुपमा चर्चित छन् । उनले गाएका हिन्दी गीतका कभर युवापुस्ताले सर्वाधिक रुचाएका छन् । डेब्यू फिल्ममा उनको अभिनयको पनि प्रशंसा भयो । उनले दोस्रो फिल्म नै मीन भामको पाउनुलाई सोनमको ठूलो सफलता मानिएको छ । किनकि, अहिलेका चल्तीका प्रायः कलाकारहरु निर्देशक भामको एक्सन-कटमा काम गर्नका लागि इच्छुक छन् । 
 
‘चिसो वर्ष’ले निर्माण अगावै विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलबाट करोडौंको फन्ड जितिसकेको छ । आगामी पुष-माघबाट छायांकन सुरु हुने फिल्मले एक तिब्बती महिला पेमाले श्रीमान् खोज्न गर्ने संघर्षको कथा वाचन गर्ने बताइएको छ । उनी गर्भवती हुन्छिन् । श्रीमान् हराएपछि उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजिमा निस्किन्छिन् र यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ ।