Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को विवाद मिल्यो, मंसिरबाट छायांकन गर्ने सहमति

फिल्मीखबर, काठमाडौं, 2022/10/12
prasad 2
 
फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीबीच उत्पन्न विवाद समाधान भएको छ । निर्माता थापाले चलचित्र निर्माता संघमा छायांकनको वातावरण मिलाइदिन उजुरी हालेपछि संघले तीनै जनासँग वार्ता गरेर विवाद टुंग्याएको हो । आगामी मंसिर ७ गतेबाट सुटिङ थाल्ने गरि निर्माता, निर्देशक र अभिनेताले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
 
मंसिर ७ गते छायांकन गर्न सम्भव नभएको अवस्थामा उपयुक्त समयमा छायांकन गर्ने त्रिपक्षीय सम्झौता भएको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिएका छन् । गत असारमा फिल्मको छायांकनका लागि कलाकारदेखि निर्माता-निर्देशकसम्म कास्की पुगेका थिए । तर, क्यामेरा ‘अन’ हुनसाथ अभिनेता विपिन कार्कीले विवाद झिकेपछि फिल्मको सुटिङ रोकिएको थियो । 
 
छायांकन नगरी फिल्मको टिम काठमाडौं फिर्ता भएपछि निर्माता थापाले नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा विपिन कार्कीलाई फिल्म खेल्नका लागि सहमति गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएका थिए । फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन उनको माग थियो । अन्ततः निर्माता संघले फिल्मको विवाद मिलाएर छायांकनको वातावरण बनाइदिएको छ ।
 
सुभाष थापा र केशव पाण्डे निर्माता रहेको फिल्ममा विपिनसँगै नम्रता श्रेष्ठ, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ जहाँ टुंगिएको थियो ‘प्रसाद २’ त्यहीँबाट सुरु हुनेछ । फिल्मको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।